काठमाडौंका १० मध्ये ९ निर्वाचन क्षेत्रमा गठबन्धनको भागबण्डा मिल्यो

सत्ता गठबन्धनमा रहेका पाँच दलहरूबीच काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरूमध्ये ९ वटाको भागबन्डा टुंगिएको छ । काठमाडौंका १० वटा क्षेत्रहरूमध्ये कांग्रेसले ७ वटा क्षेत्रमा उम्मेदवार पनि टुंगो लागेको छ ।

भागबन्डाअनुसार काठमाडौं क्षेत्र नं. २ भने नेकपा (माओवादी केन्द्र)को भागमा पर्ने भएको छ । सत्ता गठबन्धनका दलहरूबीच काठमाडौंका क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा नेपाली कांग्रेसले उम्मेदवारी दिने गरी सहमति भएको छ । क्षेत्र नं. ७ मा डा. बाबुराम भट्टराईको नेसपा र क्षेत्र नं ८ मा नेकपा( एकीकृत समाजवादी) ले भागबन्डा पाउने भएको छ । २०७४ को चुनावमा कांग्रेसले काठमाडौंका क्षेत्र नम्बर १, ४, ६, १० क्षेत्र जितेको थियो । यी क्षेत्र यसपालि पनि कांग्रेस आफैंले राखेर सत्ता गठबन्धनसँग तालमेल गर्दै थप ३ क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ ।

काठमाडौंको क्षेत्र नम्बर ७ मा भने कांग्रेस, जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले दाबी गरिरहेका छन् । यो क्षेत्रमा मात्र सहमति हुन बाँकी रहेको अरू सबै क्षेत्रमा सहमति भइसकेको स्रोतले जनाएको छ ।

डा. भट्टराई गठबन्धनको बैठकमा उपस्थित हुने गरेका छैनन् । डा. भट्टराईको पार्टी नेसपाबाट छोरी मानुषी यमी भट्टराई श्रेष्ठले ७ नं. क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)कै चुनाव चिह्न लिएर उठ्ने सहमति हुन लागेको छ । क्षेत्र नं. ८ मा नेकपा (एस)ले जीवनराम श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

माओवादी केन्द्रको भागमा परेको काठमाडौं क्षेत्र नं. २ मा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ उम्मेदवार बन्ने माओवादी केन्द्र वृत्तमा चर्चा छ । उनी उम्मेदवार बन्न नचाहे लिलामणि पोखरेल, कुमार पौडेलमध्ये एक उम्मेदवार हुने भएका छन् ।

केही साताअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौंमा आफ्नो पार्टीको जनमत कमजोर भएको उल्लेख गर्दै काठमाडौंका मेयर बालेन शाहको भन्दा राम्रो जनमत ल्याउने मान्छे खोजी भइरहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर