गुणस्तरीय कानून निर्माणमा कमीहरू छन् : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले गुणस्तरीय कानून निर्माण गर्ने काममा आफ्ना पनि कमीहरू रहेको स्वीकार गरेका छन् ।

सभामुख सापकोटाले रचनात्मक र सिर्जनात्मक ढंगले आफ्नै क्षमताको समेत भरपुर उपयोग गरेर गुणस्तरीय कानून निर्माण गर्न नसकिएको बताएका हुन् ।

‘सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’को अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गुणस्तरीय कानून निर्माणका लागि आफूले प्रतिनिधि सभाबाट प्रयत्न गरे पनि त्यसअनुसारको वातावरण बन्न नसकेको गुनासोसमेत गरे ।

पछिल्ला दिनहरूमा भने गुणस्तरीय कानून निर्माणका लागि आफूले बिहान १० बजेबाट सुरु गरिएको बैठक बेलुका १० बजेसम्म सञ्चालन गरेको सभामुख सापकोटाको भनाइ थियो । उनले पछिल्लो बजेट अधिवेशनमा भने ३२ वटा कानून पारित भए पनि कानून निर्माणको काममा कमीहरू रहेको उल्लेख गरे ।

सभामुख सापकोटाले विचार र प्रविधिलाई जोडेर अघि बढ्दा मात्रै मुलुकको हित हुने पनि बताए । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको बलियो सहकार्यमा मात्रै सूचनाको हकसम्बन्धी अधिकारलाई कार्यान्वयनमा लैजान सकिने पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोगले पटकपटक सचेत गराउँदा पनि सूचनाको हकसम्बन्धी कानून संशोधन गर्ने काम नभएको भन्दै गुनासो गरे । उनले सूचनाको हक पालना गर्ने र गराउने सबैभन्दा ठूलो दायित्व सरकार र सार्वजनिक निकायहरूको भएको पनि स्मरण गराए ।

प्रमुख सूचना आयुक्त गुरुङले सूचना लिन पाउने गरी अधिकारीहरूको आवश्यक व्यवस्था मिलाउन पनि सबै सार्वजनिक निकायहरूलाई पुनः सचेत गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर