चाडपर्वको मौका छोपेर बढी भाडा लिन खोज्ने १६ जना पक्राउ

चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई काठमाडौंको कोटेश्वर र नयाँबसपार्कबाट बिहीबार बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि पक्राउ परेका ८ जनालाई प्रहरी प्रभाग कोटेश्वर र ८ जनालाई प्रहरी प्रभाग गोंगबुमा राखिएको छ ।

चाडपर्वको समयमा यात्रुहरूलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तीहरूलाई प्रहरीले पक्राउ गर्दै आएको छ । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान गरी कानूनबमोजिम कारबाही गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

अवस्था ठीक नभएका ३५ वटा सवारी साधन कारबाहीमा, ३१ वटा नियन्त्रणमा

काठमाडौंको बौद्ध नारायणटारमा बिहीबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका बस, टेम्पो, माइक्रो बस , डीआई गाडीलगायतका ३५ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै ३१ वटालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान तालिमप्राप्त प्राविधिकसहितको टोलीद्वारा २५५ ओटा सवारी साधनलाई गरिएको चेकिङको क्रममा अवस्था ठीक नभएका ३५ वटा सवारी साधनलाई कारबाही गरिएको र ३१ वटालाई नियन्त्रणमा लिएको प्रवक्ता भट्टले जानकारी दिए ।

नियन्त्रणमा लिएका ३१ वटा सवारी साधनलाई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था विभाग पठाउन लागिएको छ ।

अवस्था ठीक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न बिहीबार बिहान सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको बौद्ध नारायणटार क्षेत्रमा खटिएको थियो ।

अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर