सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति गर्दै सकियो नेपाल-भारत सीमा सुरक्षा बैठक

सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सकिएको छ । असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठक बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्पन्न भएको हो ।

बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको तफर्बाट सशस्त्र सीमा बलका महानिर्देशक सुजोयलाल थाओसेनले नेतृत्व गरेका थिए ।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको छ ।

यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको छ ।

 

नेपाल–भारत सीमा सुरक्षाा बैठक प्रत्येक वर्ष आलोपालो आयोजना हुने गरेको छ । यसअघि गत असोजमा भारतको नयाँ दिल्लीमा सीमा बैठक आयोजना गरिएको थियो।

नेपाल–भारत खुला सीमाका कारण व्यवस्थापन र सीमापार अपराध रोकथाम र नियन्त्रण चुनौतीपूर्ण छ। भारतसँग नेपालको करिब १ हजार ८ सय ८० किमि लम्बाइमा अन्तर्राष्ट्रिय सीमा कायम रहेकोमा पूर्वी सीमा करिब २ सय ३५.२ किमी, दक्षिणी सीमा करिब १ हजार ३ सय ७०.२४ किमी र पश्चिमी सिमाना करिब २ सय ७० किमी रहेको बताइन्छ।

दुई देशका नागरिक बिनारोकटोक आवतजावत गर्न सक्ने भए पनि खुला सीमाको कारण आतंकवादी गतिविधिमा संलग्न गिरोहका सदस्य सहजै आवतजावत गर्ने गरेका विगतका थुप्रै तथ्य र प्रमाण छन्। जसबाट एक देशमा अपराध गरेर अर्को देशमा लुक्ने, हातहतियारको अवैध ओसारपसार, आतंकवादी गतिविधि, लागूऔषध, जाली नोटको कारोबार, सुन तस्करी, भन्सार छलीलगायतका दुवै देशका साझा समस्या हुन्।

नेपाल र भारतबीच सानाठूला गरी करिब ६० वटा नदी/खोला तथा खोल्सीले सिमानाको काम गरेका छन्। जसबाट ६ सय ४० किमि लम्बाईमा नदीको सीमना कायम छ । त्यसमध्ये पूर्वमा मेची नदीले ८० किलोमिटर र पश्चिममा महाकाली नदीले २०० किलोमिटर, नारायणी नदीले २० किलोमिटर, राप्ती नदीले ६ किलोमिटर र अरु बाँकीले २ सय ५९ किलोमिटर बढीमा सीमा छुट्याएको छ।

पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी गरी २५ वटा जिल्ला भारतसँग मात्रै जोडिएका छन्। ताप्लेजुङ र दार्चुला नेपालका त्रिदेशीय सीमा जोड्ने जिल्ला हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर