
मन्त्री निवास निर्माणको काम छिटो सक्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निर्देशन


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका छन् ।
बिहीबार भैंसेपाटी पुगेर निर्माणाधिन भवनहरुको अवलोकन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाको उपसभामुख तथा मन्त्री निवासको निर्माण कार्य छिट्टै सक्न निर्देशन दिएका हुन् ।
उनले निर्माण कार्य निकै ढिलो भएको भन्दै २४ घण्टा नै निर्माण कार्यलाई जारी राख्नुपर्ने बताए । उनले रात दिन काम नगरीकन समयमा निर्माण कार्य नसकिने भएकाले निर्माण कार्यमा संलग्न श्रमिकहरूको सिफ्ट मिलाएर रात दिन नै काम गराउन निर्देशन दिए ।
निर्माण कार्य निकै सुस्त हुने गरेको भन्दै उनले भविष्यमा कुनै आयोजनाहरू गराउँदा २४ घण्टा नै काम गर्ने गरी सम्झौता गर्नुपर्ने र सोहीअनुसारको प्रावधान राख्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले भंैसेपाटीको सडक जीर्ण अवस्थामा रहेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले सडकको बिगँ्रदो अवस्था देख्दा पनि कसैलाई नपोलेको टिप्पणी गरे ।
अध्यक्ष तिमिल्सिनाले सम्बन्धित कर्मचारीहरुलाई पनि काममा नयाँ नयाँ सोच र योजना ल्याउन आग्रह गरे । उनले आफू मन्त्री भएको भए स्पष्ट योजना र दृष्टिकोण भएको मान्छेलाई सम्बन्धित विभागको महानिर्देशक नियुक्त गर्ने थिएँ भने । सम्बन्धित जिम्मेवार मान्छेलाई कडाइ नगरेसम्म काम हुन नसक्ने उनको भनाइ छ ।
उनले डेंगु संक्रमणका कारण ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार गराइरहनु भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई भेट गरी स्वास्थ्य लाभको कामना पनि गरे ।
प्रतिक्रिया