यसकारण एमालेले बिनोदकुमार शाहलाई दैलेख २ मा चुनावी मैदानमा उतार्दैछ

नेकपा एमालेले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा दैलेख २ बाट बिनाेदकुमार शाहलाई उम्मेदवार बनाउने सम्भावना बढेर गएको  छ । अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएपछि शाह उम्मेदवार बन्ने पक्कापक्की जस्तै भएकाे हो ।

शाहसहित एमालेका ५ जना नेता उम्मेदवारका लागि सिफारिस भए पनि अहिले मुख्य रुपमा शाह, लक्ष्मी पोखरेल र राजबहादुर शाह प्रतिस्पर्धा देखिएका छन् । जिल्लाबाट सिफारिस भएपनि एमाले प्रचार विभागका प्रमुख विष्णु रिजाल र निर्वतमान सांसद राजबहादुर बुढा संसदको दौडबाट बाहिरिएका छन् ।

‘विभिन्न व्यक्तिहरु रहे पनि प्रदेश, जिल्ला र गाउँ कमिटिको सिफारिसअनुसार शाहलाई टिकट दिन अध्यक्ष सहमत देखिनु भएको छ,’ बालकोट निकट स्रोतले भन्यो ।

शाह एमाले कर्णाली प्रदेशका अध्यक्ष हुन् । ‘दैलेखमा अहिले एक उम्मेदवारले अर्कोविरुद्ध डेलिगेसन लैजाने काम भइरहेको छ ‘ एक नेताले भने, ‘अहिलेको कठिन परिस्थितमा सामान्य मतदाताहरुलाई पनि आफ्नो पक्षमा पार्ने व्यक्तिलाई टिकट दिने हो । शाहले लामो समयदेखि यस क्षेत्रमा बसेर राजनीति गर्नु भएको हो ।’

दैलेख २ मा स्थानीय तह चुनावअघिसम्म एमाले सबैभन्दा अघि  रहेको थियो । एकल मतको गणना गर्ने हो भने पनि एमाले अग्रता देखिन्छ । तर कांग्रेस र माओवादी मिल्दा भने एमालेका ३ हजार भन्दा कम मत रहेको छ ।

दैलेख २ संसदीय निर्वाचन क्षेत्रमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिका समावेश गरिएको छ।

कुनै समय दैलेख नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को प्रभाव क्षेत्रको रूपमा रहेको थियो । तर, बिनोदकुमार शाहको नेतृत्वमा नेमकिपाका नेताहरू एमालेमा प्रवेश गरेपछि एमालेको वर्चश्व रहँदै आएको छ । अहिले भने यस निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसबाहेक अन्य राजनीतिक दलको खासै प्रभाव देखिँदैन ।

पछिल्लो तीनवटा निर्वाचनमा लगातार विजयी हुँदै आएको नेकपा एमाले छ भने कांग्रेसले यस निर्वाचन क्षेत्रमा दुईपटक जित हासिल गरेको थियो ।

२०४८ सालको चुनावमा कांग्रेसका रंगबहादुर शाहीले जितेका थिए । २०५१ सालमा भएको आमनिर्वाचनमा एमाले र नेमकिपाबीच गठबन्धन भएको थियो ।

त्यस समयमा नेमकिपाका उम्मेदवार शाह चुनावमा विजयी भएका थिए । चुनाव जितेका शाह पछि एमालेमा प्रवेश गरेपछि पुनः चुनाव भयो र शाह नै विजयी भए । ०५६ सालको आमचुनावमा कांग्रेसका शिवराज जोशी निर्वाचित भएका थिए । २०६४ सालमा भएको पहिलो संविधान सभा चुनावमा देशभर एमालेले कमजोर प्रदर्शन गर्दा पनि दैलेखमा भने चुनाव जित्न सफल भएको थियो ।

२०६४ सालमा राजबहादुर बुढा, २०७० सालमा एमालेकै लक्ष्मी पोखरेल सांसदमा निर्वाचन थिए । २०७४ मा पुन बुढा निर्वाचित भए । प्रदेश सभाका दुई क्षेत्रमा दुवैमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

स्थानीय तह चुनावको वडाध्यक्षहरूको मतमा नेकपा एमाले सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा रहेको छ । एमालेले २१ हजार ७६ मत प्राप्त गर्दा कांग्रेसले १९ हजार ७ सय ८६ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ५ हजार ७ सय ५५ , नेकपा एकीकृत समाजवादी ८ सय ३० र राप्रपाले ३ सय २१ मत प्राप्त गरेका छन् ।

दुल्लु नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको थियो । त्यसैगरी भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयर र उप मेयर दुवै कांग्रेसले जितेको थियो । ठाँटीकाँध गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेको छ भने आठबीस नगरपालिकाको मेयर उपमेययर दुवै एमालेले जितेको छ । सबै स्थानीय तहमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।

एमालेले प्रतिनिधि सभा उम्मेदवार बनाउन ५ जनाको नाम सिफारिस गरेको छ । जसमा पूर्वसांसद बिनोदकुमार शाह, निवर्तमान सांसद राजबहादुर बुढा, पूर्वसांसद लक्ष्मी पोखरेल, कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही र एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजाल रहेका छन् । शाह एमालेको कर्णाली प्रदेशका अध्यक्ष हुन् । शाह जनस्तरमा भिजेका नेता हुन् र लामो समयदेखि त्यही निर्वाचन क्षेत्रमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर