‘कांग्रेस सत्ताको हतियार मात्र हुन लाग्यो, शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले नेपाली कांग्रेसभित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरू निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरे ।

महामन्त्री थापाले पार्टीभित्रका नेताहरूले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको जिकिर गरे । उनले युवाहरूको समर्थनले आफूमा यस्ता विकृतिहरूलाई चिर्ने साहस थपिएको भन्दै युवाहरूलाई निराश नबनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

महामन्त्री थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे । उनले सरकार मात्र निर्वाचनलगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासीन बनेको बताए ।

उनले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर बिरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्युनिकरणका लागि पहल हुन नसकेको बताए । महामन्त्री थापाले डेंगुका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपतकालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर संक्रमणलाई न्यूनीनकरण गर्ने अभियान सुरु गर्नुपर्ने बताए ।

उनले सरकारसँग देशभरको डेंगु संक्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे । महामन्त्री थापाले सरकारले महामारीको बेलामा अरू कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने जिकिर गरे ।

उनले आफू स्वास्थ्यमन्त्री रहँदा बनाएको बीमा विधेयक, ऐन लागू भएको भए बीमा गरेका नेपाली नागरिकहरूले अस्पतालको शैय्यामा सुतिसकेपछि खल्तीबाट एक रुपैयाँ पैसा पनि तिर्नुपर्ने अवस्था नआउने दाबी गरे ।

महामन्त्री थापाले देशको आजको सबैभन्दा ठूलो मुद्दा नेपालका युवाहरूले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताए । उनले वर्तमान अवस्थामा नेपालको राजनीतिको प्राथमिकतामा चुनाव लड्ने, जित्ने र सरकार बनाउने कुरामा मात्रै सीमित भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *