मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ । वि.सं. २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो ।

नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैँमा यातायात सहज भएको छ । नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ । बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन् । नगरपालिकाले वडा नं ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर यातायात सञ्चालन भइसकेको इन्जिनियर राजु दङ्गालले जानकारी दिए ।

दुवाचौरका व्यापारी जितु भारतीले अब सहजै सामान मेलम्चीबाट ल्याएर बेच्न सकिने भन्दै खुसी व्यक्त गरे । त्यस्तै सामान ढुवानी गर्ने सवारी चलाउनुहुने रमेश श्रेष्ठले पनि गाडी चलाएर कमाइ गरी किस्ता तिर्न सहज हुने विश्वास व्यक्त गरे ।

यसअघि बाढी आएपछि ह्युमपाइप निकालिएको थियो । चाडपर्व नजिकिएसँगै यातायातका साधन सहज आवातजावातका लागि ह्युमपाइप राखिएकोे नगरप्रमुख आइतमान तामाङले बताए ।

ह्युमपाइप राखेपछि मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाका नागरिकको यात्रा सहज भएको छ । मेलम्ची बजार आउनका लागि पहिले इन्द्रावती पुल र फट्टेको पुल हुँदै झण्डै १५ मिनेटमा पुग्नेमा घण्टौँ समय लाग्ने गर्दा सास्ती भएको थियो ।

अस्थायी पुल राखेपछि मेलम्ची बजारमा व्यापार बढ्ने व्यवसायी एवं उद्योग वाणिज्य सङ्घ मेलम्चीका अध्यक्ष पुष्कर धितालले बताए । हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी पाँच सय ५१ घर बाढीले बगाएको थियो भने पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो । बाढीबाट २६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर