एमाले पदाधिकारिको निर्वाचन क्षेत्र टुङ्गो लाग्यो, को कहाँबाट उठ्दैछन् ?

नेकपा एमालेका १९ जना पदाधिकारी मध्ये अध्यक्ष केपी शर्मा ओलीसहित १३ जना पदाधिकारीको प्रत्यक्षतर्फको उम्मेदवार हुने निर्वाचन क्षेत्र टुङ्गो लागेको छ । बिहीबार भएको सचिवालय बैठकले पदाधिकारीहरुको निर्वाचन क्षेत्रलाई टुङ्गो लगाएको हो । पदाधिकारी मध्ये उपाध्यक्षद्वय युवराज ज्ञवाली र रामबहादुर थापा तथा उप महासचिव विष्णु रिमाल प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष वा समानुपातिकको निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन् । त्यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवार नबन्ने निर्णयमा केही दिनभित्रै निर्णय गर्ने भएकी छिन् । एक पदाधिकारीका अनुसार अध्यक्ष ओलीले शाक्यलाई काठमाडौं ८ बाट उम्मेदवार बन्नका लागि आग्रह गरेका थिए । त्यसपछि उनले केही दिनभित्र यस विषयमा अन्तिम निर्णय गर्ने बताएकी छिन्। उम्मेदवार बन्ने १३ पदाधिकारी मध्ये उप महासचिव पृथ्वीसुब्बा बाहेक अन्य पदाधिकारीहरु प्रतिनिधिसभाको उम्मेदवार बन्ने छन् । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री गुरुङ प्रदेशसभाका लागि लमजुङ ‘ख’बाट उम्मेदवार बन्न लागेका हुन् ।

सचिवालयको निर्णयअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिस्पर्धा गर्ने छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं ५, उपाध्यक्षहरु विष्णु पौडेल रुपन्देही २, सुवास नेम्वाङ इलाम २ र सुरेन्द्र पाण्डे चितवन १, महासचिव शंकर पोखरेल दाङ २, उप महासचिव प्रदीप ज्ञवाली गुल्मी १, सचिवहरु टोपबहादुर रायमाझी अर्घाखाँची, लेखराज भट्ट कैलाली ४, योगेश भट्टराई ताप्लेजुङ, गोकर्ण विष्ट गुल्मी २, छवीलाल विश्वकर्मा रुपन्देही १ र रघुवीर महासेठ धनुषा ४ र पद्मा अर्याल स्याङ्जा २ बाट उम्मेदवार बन्ने भएका छन् । पदाधिकारी उम्मेदवार बन्ने निर्णय भएका निर्वाचन क्षेत्रहरुको २०७४ को आमनिर्वाचनमा विजयी भएको क्षेत्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *