चुनावी मैदानमा ‘खरा’ खरेल

नेपाल प्रहरीका अवकाशप्राप्त् डीआईजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेशप्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

डीआईजी खरेल प्रहरी महानिरीक्षक प्रतिस्पर्धामा हारेपछि प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा होमिएका थिए ।

काठमाडौं प्रहरी प्रमुखका रुपमा दुईपटक कार्यभार सम्हालेका खरेलको चर्चा त्यतीबेला चुलिएको थियो । जव उनले भर्खरै शान्ति प्रक्रियामा आएको तत्कालिन नेकपा माओवादीको उदण्डका बिरुद्ध कारबाही थालेका थिए ।

यस्तै तत्कालिन काठमाडौं प्रहरी प्रमुख एसपी नवराज सिलवालले बनाएको कोबरा टोली ( सादा पोशाकको प्रहरी ) टोलीले समेत खरेललाई भावी महानिरीक्षकका रुपमा अघि बढाउँन भरपुर सहयोग गरेको थियो ।

प्रहरी संगठनभित्र खरो प्रहरी अधिकारीका रुपमा परिचय बनाएका खरेल सुरुवातबाट नै आफुलाई भावी प्रहरी महानिरीक्षकका रुपमा अघि बढाउँदै लगेका थिए । यसका लागि उनले आर्थिक सम्झौता गरेनन् र भनसुन पनि मानेनन् भन्नेहरुको मत बलियो छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र पोखराजस्ता जिल्लाको नेतृत्व गरेका खरेल राजनीतिक शुद्धिकरणका लागि आफ्नो उम्मेदवारी दावी गरिरहेका छन् ।

उनले घरदैलोमा समेत मलाई भोट दिनु नभनेर असल, इमान्दार, नैतिकवान र देशप्रेमी उम्मेदवारलाई भोट दिनु भनिरहेको भेटिन्छन् ।

उनी पहिलो पटक चर्चित नेताहरुसँग चुनावी प्रतिस्पर्धामा छन् ।

प्रहरी सेवामा रहँदा तत्कालिन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसहित प्रहरीको बढुवा, सरुवा र नियुक्तिमा ‘सुटकेश’ को खेल प्रष्टाउने खरेल उम्मेदवार बनेको क्षेत्रमा उनका आफन्त र काभ्रेलीहरुका बाक्लो उपस्थिती रहेको छ । उनी समेत यस क्षेत्रमा लोकप्रिय नै छन् ।

काठमाडौं–१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर