म्याद थपका लागि सन्दीप लामिछानेलाई अदालत लैजाने प्रहरीको तयारी

नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।

बिदाले अदालत बन्द रहेका कारण सोमबार मात्र म्याद थपका लागि अदालत लग्न लागिएको हो ।

प्रहरी स्रोतका अनुसार आज दिउँसोसम्ममा लामिछानेलाई अदालत लगिने छ । कतारको दोहा हुँदै बिहीबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले अदालतको अनुमति लिएर २४ दिनसम्मको समय पाउनेछ । पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रहरीले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको थियो ।

प्रहरीमा जाहेरी परेको कारण अब प्रहरीले सन्दीपसँग बयान लिई सन्दीपले अन्य कुनै व्यक्तिको नाम लिएका ती व्यक्तिहरुसँग पनि बयान लिन वा बुझ्न सक्नेछ । अभियोग पुष्टि हुने आधार र प्रमाण भएमा प्रहरीले अदालतबाट पाएको म्यादभित्रै अनुसन्धान सकी कुन कानुनको कुन दफा लगाएर मुद्दा दर्ता गर्नुपर्ने हो सो को रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलले सरकारवादी मुद्दा बनाएर अदालतमा मुद्दा दर्ता गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर