गैरनागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन् । मंगलबार गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे उनले सो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघलाई सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले हरेक गैरआवासीय नेपालीहरूले विदेशमा नेपालको पहिचान गराउन, विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न उत्प्रेरित गर्न महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले गैरआवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरूको विकास र प्रवर्द्धनमा सहयोग पुर्‍याउन आवश्यक रहेको पनि बताए । प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरूको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरूले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक रहेको बताए ।

उनले गैरआवासीय संघको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताए । उनले धितोपत्रको दोस्रो चरणमा गैरआवासीय नेपालीहरूलाई खुला गर्न कानूनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको पनि बताए ।

प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैरनागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री देउवाले सरकारले गैरआवासीय नेपालीहरूको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्ति सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर