गृहमन्त्रीको आग्रह- ‘सत्तारूढ गठबन्धनलाई दुई तिहाइ बहुमत दिनुस्’

गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनलाई दुई तिहाइ बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन्। गृहमन्त्री खाणले नागरिकताविहीन नेपाली नागरिकहरूलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारूढ गठबन्धनलाई दुई तिहाइ बहुमत आवश्यक रहेको बताए।

मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभामा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैरआवासीय नेपालीहरूलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे । गृहमन्त्री खाणले राष्ट्रपतिको सो गैरसंवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन पनि गैरआवासीय नेपालीहरूलाई अनुरोध गरे।

गृहमन्त्री खाणले नेपालमा लगानी भित्र्याउन पनि गैरआवासीय नेपालीहरूलाई आह्वान गरे। गैरआवासीय नेपालीहरूको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने उनको भनाइ थियो। गृहमन्त्री खाणले विदेशमा रहेका हरेक नेपालीहरूको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पनि बताए।

गृहमन्त्री खाणले सरकारले गैरआवासीय नेपालीहरूको लगानीको सुरक्षाका लागि सुरक्षाकर्मीहरूको आवश्यक परिचालनको व्यवस्था मिलाउने आश्वासनसमेत दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर