हुम्लामा यी हुन् प्रतिनिधि सभा र प्रदेश सभाका १६ जना उम्मेदवार

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि हुम्लामा तीन स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा चार, प्रदेश सभा ‘क’ मा छ र ‘ख’ मा छ गरी १६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

गत बुधबारदेखि भएको निरन्तर भारी वर्षाका कारण हवाई सेवा बन्द हुँदा अधिकांश उम्मेरदवारहरूले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत वारिसनामाबाट मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिरिङ डम्डोललामा (कार्चेन), नेकपा (एमाले) का दल रावल, माओवादी केन्द्र समाजवादीका कर्णजित बुढाथोकी (सुशील) र राप्रपाका तेजबहादुर रावतसहित चार जनाले मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका राप्रपाका रावत बाहेक लामा, रावल र बुढाथोकीले वारेसमार्फत मनोनयपत्र दर्ता गराएका थिए । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका छिरिङडम्डोलले माओवादी केन्द्रका जिल्ला कमिटी सचिव धर्मराज बोहराले पनि बारेसमार्फत मनोनयन दर्ता गराए ।

एमालेका रावलको तर्फबाट उनका भाइ पुन्दबहादुर रावलले र माओवादी केन्द्र समाजवादीका केन्द्रीय अध्यक्षसमेत रहेका कर्णजित बुढाथोकीले जिल्ला अध्यक्ष रङ्गमल रोकायामार्फत आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा मनोनयन दर्ता गराएका थिए ।

अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एक मात्र जिल्लाका रूपमा रहेको हुम्लामा वर्षाका कारण हवाई सेवा अवरुद्ध भएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत मनोनयन गराइएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता शाही गठबन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र नं. ‘ख’ का प्रदेश सभा सदस्यका उम्मेदवार बनेका हुन् ।

मुख्यमन्त्री शाहीसँगै नेकपा एमालेका नेता छक्कबहादुर लामाले प्रकाश शाही र दल फडेराले गोकुल बुढाले पनि वारेसमार्फत आयोगको केन्द्रीय कार्यालयमो मनोनयन पत्र दर्ता गराएका थिए ।

यसैगरी गठबन्धनका तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क) को टिकट पाएका रणसिंह परियारले वारेसमार्फत जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा मनोनयन दर्ता गराए ।

प्रदेश निर्वाचन क्षेत्र (क) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रणसिंह परियार, नेकपा (एमाले)बाट दल फडेरा, एकीकृत समाजवादीबाट हस्तबहादुर शाही, राप्रपाबाट छापे ऐडीसहित कांग्रेस नेता मङ्गलबहादुर शाही माओवादी केन्द्रका ध्रुवकुमार शाहीले स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गराए ।

यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख) मा गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेका छक्कबहादुर लामा, राप्रपा नेपालका सुमन रावत, जनता समाजवादीका वलिराज शाही, राप्रपाबाट नैन रावत र माओवादी केन्द्रका वली रावतले स्वतन्त्र मनोनयन दर्ता गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर