बाढी-पहिराे प्रभावितको उद्धारमा जुट्यो नेपाली सेना

केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी-पहिरोबाट जनजीवन प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार गरिरहेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैलालीको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयको उद्दार गर्नुका साथै राहत सामग्री वितरण गरिएको छ ।

बाँकेको डुडुवा गाउँपालिका, वडा नं. १, खडैचा कृषि चौफेरी गाउँमा राप्ति खोला र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयको उक्त गाउँपालिकासँग समन्वय गरी उद्धारका साथै खाना र पानीसमेत उपलब्ध गराएको सेनाले जनाएको छ ।

कैलालीको विभिन्न डुबान प्रभावित इलाकामा स्थानीय र उनका सामग्री स्थानान्तरण गर्नुका साथै सेनाले बाढीको कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरुलाई सकुशल उद्धार गरेको छ । जुम्ला र कालिकोटामा सेनाले हेलिकप्टरमार्फत चार जनाको उद्दार गरि सुर्खेतसम्म पुर्‍याएको छ ।

सेनाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा, गायत्री टोल आसपासको क्षेत्र डुबानमा परि घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । डुडुवा गाउँपालिका वडा नं १ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिइएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–८ थपुवामा बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा रहेको करिब ५० मिटर बाध निर्माण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *