कर्णालीबाट प्रतिनिधि सभामा महिला उम्मेदवार दुई, प्रदेश सभामा शून्य

कर्णालीमा प्रतिनिधि सभाका १२ क्षेत्रमध्ये दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा जुम्लाबाट नेकपा (माओवादी केन्द्र)की गोमा गौतम कुँवर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट दैलेख १ बाट कुन्ती शाही उम्मेदवार बनेका हुन् । दुवै जना तत्कालीन संविधान सभामा समानुपातिक सभासद थिए ।

कुँवरको प्रतिस्पर्धा नेकपा (एमाले)का रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग हुँदैछ । जुम्लाको तातोपानी गाउँपालिका–४ मा जन्मेकी कुँवर तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा सहभागी हुँदै राजनीतिमा प्रवेश गरेकी हुन् । पशुपक्षी विकास राज्यमन्त्री भइसेकेकी उनले गठबन्धनको सहयोगमा आफूले चुनाव जित्ने बताइन् ।

‘प्रत्यक्ष चुनाव लड्न पाउनु खुसीसँगै चुनौती पनि हो,’ उनले भनिन्, ‘महिलाले जित्न सक्दैनन् भन्ने भ्रम छ, त्यसलाई तोड्न सफल हुनेछु ।’

शाही हाल राप्रपाको केन्द्रीय महामन्त्री छिन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घको अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिइन् । वि.सं. २०७४ मा छ महिना स्थानीय विकास र तीन महिना शहरी विकास राज्यमन्त्री बनिन् । दैलेखी जनताले नयाँ अनुहार खोजेकाले आफ्नो उम्मेदवारी परेको उनले बताइन् । उनले भनिन्, ‘लामो समयदेखि उही अनुहार दोहोरिने गरेको अवस्था छ, त्यसलाई यसपटक दैलेखी जनताले तोड्ने विश्वास लिएकी छु ।’

उनीसँग सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश सभा क्षेत्रमा शून्य

सत्ता गठबन्धन दल र एमालेले कर्णाली प्रदेश सभाका २४ क्षेत्रमा प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई टिकट दिएनन् । वि.सं. २०७४ को निर्वाचनबाट कर्णाली प्रदेश सभामा १३ महिला सदस्य थिए । उनीहरू सबै समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका हुन् ।

प्रत्यक्षतर्फ शून्य उम्मेदवारी हुँदा यसपटक पनि समानुपातिकबाट प्रदेश सभामा महिला प्रतिनिधित्व हुनेछ । प्रतिनिधि सभा र प्रदेश सभामा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर