धनुषामा प्रतिनिधि सभामा जुली महताेसहित ६ जना महिला उम्मेदवार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ । प्रतिनिधि सभातर्फ धनुषाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका एक सय तीन जनाले मध्ये धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी नेत्री जुली महतोसहित छ जना मात्र महिला उम्मेदवारी रहेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत रहेको धनुषा क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा नेकपा एमाले–जसपा गठबन्धनबाट एमाले नेत्री महतो, नेपाल जनता पार्टीबाट पुनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालबाट प्रविणाकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएका क्षेत्र नं ३ का निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उक्त क्षेत्रमा ज्योतिकुमारी साह, पूजा साह र मिलनकुमारी साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

त्यस्तै धनुषामा रहेको आठ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एक सय ३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको सङ्ख्या १० जना मात्र रहेकाे छ ।

प्रदेश सभातर्फ धनुषा क्षेत्र नं १ (क) र क्षेत्र नं १ (ख) मा १४/१४ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवार सङ्ख्या शून्य छ । प्रदेश सभा धनुषा क्षेत्र नं २ (क) मा १४ जना र क्षेत्र नं २ (ख) मा १७ जना उम्मेदवारी दर्ता गराउँदा सबै पुरुष उम्मेदवार नै छ । धनुषाको क्षेत्र नं ३ (क) मा पुनमदेवीदास तत्माले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा क्षेत्र नं ३ (ख) मा प्रदेश सभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा पाँच जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । किरणदेवी साह, पवनदेवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सीता कुमारीले सो क्षेत्रमा प्रदेशसभा सदस्य पदका उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभातर्फ धनुषा क्षेत्र नं ४ (क) मा १९ जनाले उम्मेदारी दिँदा तीन जना महिलाले उम्मेदवारी दिएका छन् । त्यहाँ नेपाल लोकतान्त्रिक पार्टीबाट आशादेवी साह, जनमत पार्टीबाट मिथलेशदेवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मीराकुमारी यादवले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा क्षेत्र नं ४ (ख) मा १३ जनाले उम्मेदवारी दर्ता गराउँदा जनता प्रगतिशील पार्टी नेपालबाट शोभा कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् । । गत असोज २३ गते प्रतिनिधि सभा सदस्यका लागि धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीन जना र प्रदेश सभाका लागि ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

संविधान, ऐन र कानूनले महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरे पनि महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलले नरुचाएका कारण यस्तो अवस्था देखिएको महिला अधिकारकर्मी तथा कानून व्यवसायी पार्वती चौधरीले बताइन् ।

आगामी निर्वाचनका लागि धनुषामा एक लाख ९३ हजार एक सय चार महिला र दुई लाख १६ हजार आठ सय ७५ पुरुष तथा अन्य ६ जना गरी कुल चार लाख नौ हजार नौ सय ८५ मतदाता कायम रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर