सत्ता गठबन्धनले भन्यो- ‘सर्लाही–२ मा महिन्द्र राय यादव आधिकारिक उम्मेदवार’

सत्तारूढ गठबन्धनले सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव आफ्ना आधिकारिक उम्मेदवार भएको स्पष्ट पारेको छ।

बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका शीर्ष नेताहरूले यादव साझा उम्मेदवार भएको बताएका हुन्। यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राजेन्द्र महतो पनि उम्मेदवार छन्। लोसपाले मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनसँग तालमेल गरेको छ।

चुनावी तालमेल गरेका लोसपाका महतो र माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेका यादवमध्ये को गठबन्धनको साझा उम्मेदवार हो भन्ने अन्यौल भएपछि शीर्ष नेताहरूले यादव आधिकारिक उम्मेदवार रहेको बताएका हुन्।

सर्लाही क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र (क)मा सुनिल साह र प्रदेश सभा क्षेत्र (ख)मा कौशलकिशोर राय यादव उम्मेदवार रहेको पनि गठबन्धनका शीर्ष नेताहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच सत्ता गठबन्धनले उम्मेदवारी फिर्ता लिएकोमा बागी उम्मेदवारहरूलाई धन्यवाद दिएको छ।

बुुधबार प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएका हुन्।

सत्ता गठबन्धनका शीर्ष नेताले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए। तर, कतिपय क्षेत्रमा बागी उम्मेदवारी कायमै छ।

हेर्नुहाेस् विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर