प्रहरी दिवसको पूर्वसन्ध्यामा बागमती प्रदेशकी डीआईजी बज्राचार्यले गरिन् अन्तरक्रिया

६७ औं प्रहरी दिवस–२०७९ को अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले यस कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारी, प्रहरी कार्यालय सहयोगी तथा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गरेकी छन् ।

बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच डीआईजी बज्राचार्यले उक्त अन्तरक्रिया गरेकी हुन् ।

बिहान ११ः०० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म महिला प्रहरी कर्मचारीसँग, मध्याह्न १२ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म प्रहरी कार्यालय सहयोगीहरूसँग र दिउँसो ३ः०० बजेदेखि ४ः०० बजेसम्म पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गरेकी हुन् ।

महिला प्रहरी कर्मचारी र प्रहरी कार्यालय सहयोगीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूले कार्यक्षेत्रमा कार्यसम्पादनको क्रममा आइपरेका कठिनाइ तथा आफ्ना व्यक्तिगत समस्या तथा पीर मर्काहरूको बारेमा डीआईजी बज्राचार्यसमक्ष आफ्नो गुनासो व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसकेका प्रहरी कर्मचारीहरूको गुनासो डीआईजी बज्राचार्यले टेलिफोनबाट सुनेकी थिइन् । मनासिव समस्याको तत्काल समाधान गर्न डीआईजी बज्राचार्यले निर्देशन दिइन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै डीआईजी बज्राचार्यले प्रहरी संगठन भनेको सबैको सामूहिक प्रयासले मात्र अघि बढ्न सक्ने संस्था भएकाले संगठनका सबै सदस्य आफ्नो कर्तव्यप्रति लगनशील र इमानदार हुनुपर्ने बताइन् । कानूनले समेत महिलाको पक्राउ तथा खानतलासी गर्न अनिवार्य महिला प्रहरी कर्मचारीको व्यवस्था गरेकाले महिला प्रहरी कर्मचारीले पनि हामी संगठनका आवश्यकता हौं भन्ने बुझ्नुपर्ने बताइन् ।

प्रहरी कार्यालय सहयोगी भनेको संगठनको जग भएकाले जग बलियो भएमात्र संगठन बलियो हुने उनको भनाइ थियो । कार्यालयको कामका अलावा आफ्नो फुर्सदको समयलाई प्रहरी कर्मचारीहरूले रचनात्मक कार्य गरेर बिताउनुपर्ने डीआईजी बज्राचार्यको धारणा छ ।

यसैगरी नेपाल पूर्व प्रहरी संगठन बागमती प्रदेश कार्य समिति तथा नेपाल पूर्व प्रहरी संगठन मकवानपुर जिल्ला कार्य समितिका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा डीआईजी बज्राचार्यले पूर्व प्रहरी कर्मचारी नेपाल प्रहरीको सूचनाको स्रोत र नेपाल प्रहरीको गरिमामय इतिहासको प्रमुख हकदार भएकाले निरन्तर समन्वय गरिरहने बताइन् । यस वर्षको प्रहरी दिवसमा सबैभन्दा ज्येष्ठ पूर्व प्रहरी कर्मचारीलाई सम्मान गरिने पनि उनले जानकारी दिइन् ।

नेपाल प्रहरीका सदस्य सेवानिवृत्त भएपछि विभिन्न किसिमका मानसिक समस्याहरू देखिने भएकाले उनीहरूको सेवानिवृत्त जीवनलाई रचनात्मक बनाउन विभिन्न सीप प्रदान गर्नका लागि आवश्यक प्रबन्ध मिलाउने समेत बज्राचार्यको भनाइ छ ।

बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमको सहजीकरण बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले गरेका थिए । यही असोज ३१ गते नेपाल प्रहरीले प्रहरी ऐन २०१२ जारी भई नेपाल प्रहरीको विधिवत स्थापना भएको ६७ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी ६७औं प्रहरी दिवस मनाउँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर