सन्दीपलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुनेगरी ७ दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमबार अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरे पनि अदालतले आज (बिहीबार) थप ५ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । उनले अदालतले बयान लिने क्रम आधा सकिसकेको भन्दै असोज ३१ गतेसम्म अनुसन्धान सक्नेमा विश्वस्त रहेको बताए ।

उनले यो मुद्दा एक व्यक्तिसँग मात्र नभई संस्थासँग पनि सम्बन्धित रहेकाले फास्टट्र्याकमा सक्नको लागि ३ दिनको म्याद थप्न आग्रह गरे पनि अदालतले ५ दिनको म्याद थपी अनुसन्धानका लागि समय दिएको बताए । सन्दीपमाथि थप ५ दिनको म्याद थपी अनुसन्धान गर्न सूर्यबहादुर थापाको बेन्चले समय दिएको र आगामी कात्तिक १ गते पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्नसक्ने बताए।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै प्रहरीले पक्राउ गरेको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *