पार्टीले षड्यन्त्रपूर्वक मलाई टिकट दिएन : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीले षड्यन्त्रपूर्वक आफूलाई उम्मेदवार नबनाएको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सो आरोप लगाएका हुन् ।

नेता रावलले अछामबाट एकल नाम सिफारिस भएर कसैले पनि आफूलाई हराउन नसक्ने भएपछि पार्टीले सिफारिस नै नभएका व्यक्तिलाई षड्यन्त्रपूर्वक स्वेच्छाचारी निर्णय गरेर आफूलाई टिकट नदिएको बताए । उनले कुनै पनि व्यक्ति कुनै पनि पद वा जिम्मेवारीमा सधैं नरहने शाश्वत सत्य रहेको उल्लेख गर्दै उम्मेदवार हुने वा नहुने वा कुनै पदमा पुग्ने, नपुग्ने विषयलाई आफूले प्रमुख नठानेको दाबी गरे ।

नेता रावलले देश र जनताको हित एवम् पार्टीको सिद्धान्त, विधि, पद्धति, नीति र मान्यताको अवज्ञा भएको बताए । उनले एकल सिफारिसमा पर्दासमेत आफूसँग कुनै छलफल नगरी नेकपा एमालेका निम्ति कुनै योगदान नगरेको सिफारिस नै नभएको व्यक्तिको लागि पार्टी पंक्तिले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छाचारी, अन्यायपूर्ण र गलत रहेको जिकिर गरे ।

उनले पार्टीको यो निर्णयले सुदूरपश्चिम प्रदेश र अछाम जिल्लाका जनता तथा पार्टी संगठनमा रहेका नेता र कार्यकर्ताको घोर अपमान भएको उल्लेख गरे । उनले पार्टीको यो निर्णयले पार्टीको हित र एकतामा आघात पुगेको बताए । उनले आमनिर्वाचनको चर्चा हुन थालेपछि चुनाव नलड्ने भन्दै सुनियोजित प्रचार गरिएको बताए ।

नेता रावलले युनिफिकेशन चर्चसँग आबद्ध होली वाइन भनेर चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा एमाले नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंडामा उम्मेदवार बनाउने, आफैँले प्रतिक्रियावादी भनेको राप्रपा र अध्यक्ष ओली केपी शर्मा ओली र माधवकुमार नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयासका साथै संविधान दिवसलाई कालो दिवसको रूपमा र एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसलाई बिहान पार्टी प्रवेश गराई दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताको अनेकौँ कर्म र कुकर्म गरेकाहरूलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासनभित्र पर्छ ? भनी प्रश्नसमेत गरे ।

नयाँलाई अवसर दिने कुरा पार्टी अध्यक्ष र निकटहरूको हकमा लागू हुन नसकेको आरोप उनले लगाए । नेता रावलले अध्यक्ष ओलीप्रति कटाक्ष गर्दै बहुमतको सरकार हुँदा आधा समय बालकोट र अस्पतालमा समय बिताउनेले टिकट पाएको तर देश र जनताको हितका लागि आवाज उठाउने व्यक्तिलाई टिकट नदिइएकोप्रति आक्रोश व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर