पूर्वसूचना प्रणालीको द्रुततर विकासमा सरकार लागिपरेको छ : गृहसचिव

गृह मन्त्रालयले पूर्वसूचना प्रणालीलाई सबै क्षेत्रमा प्रभावकारी बनाउन नसक्दा बर्सेनि विपद्जन्य जोखिमका समस्या बढ्दै गएको भन्दै पूर्वसूचना प्रणालीको द्रुततर विकास गर्न सरकार लागिपरेको बताएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यस्तो बताएका हुन् । उनले नेपालमा बाढीको लागि मात्रै पूर्वसूचना प्रणाली प्रभावकारी भएको पाइए पनि अन्य क्षेत्रमा पूर्वसूचना प्रणालीको व्यवस्थापन र कार्यान्वयन फितलो रहेको बताए ।

सचिव सिंहले बाढीबाट हुने मानवीय क्षति कम भए पनि धनको क्षति भने अझै कम गर्न नसकेको बताए । उनले डढेलो, चट्याङ, हावाहुरीजस्ता विपद्का घटनाको अझै पनि पूर्वसूचना प्रणालीको विकास हुन नसकेको बताए ।

उनले चट्याङका कारण हरेक वर्ष नेपालमा एक सयभन्दा धेरैले ज्यान गुमाउने गरेको उल्लेख गर्दै सरकारले चट्याङको पूर्वसूचना प्रणालीको विकास गर्न लागेको बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सबै खालका जोखिमहरूको पूर्वानुमान हुनसक्ने र पूर्वसूचना दिनसक्ने हो भने जनधनको क्षति कम हुने बताए । कतिपय स्थानमा भू–बनावटको अध्ययन नभई बस्ती बसेको र कतिपय ठाउँमा नदीको किनारमा बस्ती बस्नाले विपद्का घटना बढिरहेको र व्यवस्थापनको कार्य कठिन भएको जिकिर गरे ।

गृहसचिव सिंहले सरकारको विपद् प्रतिकार्य योजनाको परिणामअनुसार यस वर्ष गत वर्षको तुलनामा बाढीबाट हुने मानवीय क्षति कम भएको बताए । उनले सरकारले दिएको पूर्वसूचना र पूर्वतयारीको कार्यान्वयनका कारण गत वर्षको तुलनामा बाढीबाट मानवीय क्षति कम भए पनि धनको क्षति कम गर्न नसकेको बताए ।

गृहसचिव सिंहले यस वर्ष पहिरोबाट हुने क्षति भने गत वर्षको तुलनामा बढिरहेको बताए । उनले हालै पहिरो र बाढीका कारण पश्चिमका क्षेत्रहरूमा ठूलो क्षति भएको बताउँदै सरकारले खोजी, उद्धार र राहतका कार्यलाई तदारुकताका साथ अघि बढाएको बताए ।

उनले अहिले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा विपद् व्यवस्थापन कोष राखिएको र उक्त कोषबाट कुनै व्यक्तिको विपद्बाट मृत्यु भएको अवस्थामा तत्काल २ लाख रुपैयाँ र घरको क्षति भए १५ हजार रुपैयाँ तत्काल दिने व्यवस्था गरिएको उल्लेख गरे । गृहसचिव सिंहले गत १५ दिनमा मात्रै विभिन्न जिल्लाका कोषमा डेढ करोड रुपैयाँ मन्त्रालयले उपलब्ध गराएको बताए ।

गृहसचिव सिंहले पश्चिमी क्षेत्रमा अविरल वर्षाका कारण भएको क्षतिले केही स्थानमा धाँजा फाट्ने र बस्तीहरू नै बगेको अवस्था रहेकाले उक्त क्षेत्रका स्थानीयको स्थायी बसोबासका लागि मन्त्रालयले काम गरिरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर