सूचना चुहाएको आरोपमा हिरासतमा रहेका सशस्त्रका हवल्दार साहुले पाए सफाइ

संगठनका गोप्य सूचना चुहाएको आरोपमा तीन महिनादेखि हिरासतमा रहेका सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ नम्बर गण दार्चुलाका वरिष्ठ हवल्दार नरेशसिंह साहु हिरासतमुक्त भएका छन्।

आरोप पुष्टि नभएको ठहर गर्दै सशस्त्र प्रहरीको विशेष अदालतले साहुलाई सफाइ दिएको हो। सशस्त्र मुख्यालय स्रोतले उनलाई बुधबारदेखि नै हिरासतमुक्त गरिएको जनाएको छ।

उनीमाथि विभागीय कारबाही भने हुने तर के कारबाही हुन्छ भन्ने कुरा फैसलाको पूर्णपाठ आएपछि मात्रै थाहा हुने सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुुरुषोत्तम थापाले जानकारी दिए।

हवल्दार साहुले खलंगास्थित सशस्त्र प्रहरी गणका १२२ जनालाई एकसाथ बिदामा छाडिएको सूचना दिएका थिए। सो सूचनापछि रासन घोटालाको विषय बाहिर आएको थियो। संगठनको नीति नियमविपरीत गणका गणपति एसपी त्रिभुवन विष्टले रासन घोटाला गर्न त्यसरी एकसाथ ठूलो संख्यामा बिदा छाडेको आरोप छ।

हवल्दार साहुमाथि हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको पनि आरोप लगाइएको थियो। हवल्दार साहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा गत असार २२ गते जन्मकैदको मागसहित मुद्दा दर्ता भएको थियो।

एसपीलाई चोख्याउन हवल्दारविरुद्ध मात्रै मुद्दा दर्ता गरिएको भन्दै सशस्त्र प्रहरीको आलोचना भएको थियो। त्यसपछि सशस्त्र मुख्यालयले एसपी विष्टको जिम्मेवारी खोसेर उनलाई अनुसन्धानमा तानेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर