बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती : कार्यवाहक गभर्नर तिमिल्सिना

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताएकी छन् ।

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै कार्यवाहक गभर्नर डा.तिमिल्सनाले यस्तो बताएकी हुन् । उनले वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि, कमजोर निर्यात, रेमिट्यान्समा कमी तथा पर्यटन क्षेत्रमा अपेक्षाकृत वृद्धि नभएका कारण शोधानान्तर स्थितिमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौतीको रूपमा रहेको बताइन् ।

डा. तिमिल्सिनाले अमेरिकी डलरको मागमा भएको वृद्धिका कारण अन्य मुद्रासहित नेपाली मुद्राको समेत अवमूल्यन भएको बताइन् । उनले डलरको मूल्य बढेका कारण नेपालमा आउने रेमिट्यान्स बढे पनि अन्य क्षेत्रमा नकारामत्क प्रभाव परेको जानकारी दिइन् ।

उनले पछिल्लो समय विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेकाले नेपालमा पनि मुद्रास्फितिमा दबाब कायम रहेको बताइन् । डा.ढुङ्गानाले नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९÷०८० को मौद्रिक नीतिलाई सहजतापूर्ण रूपमा कसिलो बनाई बाह्य क्षेत्र कसिलो कायम राख्नुपर्ने अवस्था रहेको बताइन् ।

उनले आन्तरिक उत्पादनको वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरी अर्थतन्त्रलाई सही दिशामा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले पर्यटन क्षेत्र र जलविद्युतको उचित उपयोग गरी कृषि क्षेत्रमा यान्त्रिकीकरण र औद्योगिकीरण विशेष जोड दिई अर्थतन्त्रलाई उत्पादनमुखी बनाएर दिगो विकासतर्फ उन्मुख गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

सूचना प्रविधिको क्षेत्रमा भएको विकासलाई प्रयोग गरी नेपालबाट सूचना प्रविधि सेवाहरू निर्यात गर्न सकेमा नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनको भनाइ छ । कार्यवाहक गभर्नरले बैंक तथा वित्तीय संस्थाले तरलताको समस्या खेप्नुपरेको बताइन् । उनले तरलता सहज कायम गर्न उत्पादनमूलक क्षेत्रमा लगानीमा वृद्धि गरी अर्थतन्त्रमा दबाब रहेकै कारण नियामकले पनि कडाइ गरेर अगाडि बढ्नुपर्ने अवस्था कायम रहेको बताइन् ।

त्यस्तै महालेखा परीक्षक टंकमणि शर्मा दङ्गालले नेपालको अर्थतन्त्र ‘अण्डर भ्याल्यु’ भएको बताए । उनले नेपालको जीडीपी जति हो त्यो सबै एकाउन्टमा नआएको बताए । दङ्गालले जीडीपी अहिलेको भन्दा बढी हुनुपर्ने भए पनि विभिन्न कारणले ठोस रूपमा जीडीपी नआएको बताए ।

उनले सरकार तथा अन्य सबै निकायलाई तीन÷चार वर्षदेखि मुलुकको जीडीपी राजस्व संकलनलगायतका हिसाबले हेर्दा कम रहेको बताएको बताए । उनले सरकारले अहिलेसम्म गरेको लगानी बालुवामा पानी हालेको जस्तै भएको दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर