‘युवा पुस्ताले मुलुकको नेतृत्व गरे पनि नेपाल सिंगापुर र स्विट्जरल्याण्ड बन्न सक्दैन’

अर्थविद् डा. स्वर्णिम वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरे पनि नेपाल सिंगापुर र स्विट्जरल्याण्ड बन्न नसक्ने बताएका छन् ।

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाल सिंगापुर र स्विट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसाबले श्रीलंकको अवस्थामा पुर्‍याउन सकिने बताए । उनले अहिले श्रीलंकाको ३९ सय प्रतिव्यक्ति आय रहेको बताए ।

उनले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व विस्थापित भई युवा पुस्ताले नेतृत्व पाउने बताए । उनले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भए पनि त्यस्तो हुन नसकेको बताए ।

वाग्लेले त्यस्तो हुन नसक्नु युवाहरूलाई राजनीतिमा आउन झ्याल ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको बताए । उनले योजना, भूराजनीतिक अवस्था, पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको बताए ।

उनले अहिले ११ जना युवाले काम गरेर १ जना वृद्धा पाल्नुपर्ने अवस्था भए पनि सन् २०५० पछि चार जना युवाले काम गरेर १ जना वृद्धालाई पाल्नुपर्ने अवस्था हुने बताए । उनले अहिले जीडीपीको अनुपातमा उद्योगहरूको योगदान ५ प्रतिशत रहेको भन्दै कम्तीमा १२ देखि २५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने बताए ।

वाग्लेले नेपाल उद्योग विस्तार भन्दा पनि नाङ्ले व्यापारमा लागेको भन्दै अन्य देशमा सेवा क्षेत्र भन्नासाथ लेखा परीक्षक, टेलिकम, ढुवानी, बैंकिङ र आर्टिटेक्टहरू भनेर बुझ्ने बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरूले लिने एक्स्ट्रा सुविधाले समस्या आएको बताए । उनले अर्थतन्त्र संकटमा पर्दा अतिरिक्त सुविधा (प्रिमियम) लिएर समस्या परेको बताए ।

गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रूपमा लिएको दाबी गरे । उनले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको आरोप लगाए ।

अध्यक्ष गोल्छाले राष्ट्र बैंकको मौद्रिक नीतिले नै बैंकको ब्याजदर बढ्दा समस्या उत्पन्न भएको बताए । उनले नेपालको उद्योग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको बताए ।

गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडीआई बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा गरेको बताए । उनले लामो समय रेमिट्यान्समा निर्भर भए झनै समस्या आउने बताए ।

गोल्छाले नेपालको अर्थतन्त्र र नेपालीको प्रतिव्यक्ति आम्दानी ११ सय डलर पुग्नु विदेशबाट आउने रेमिट्यान्स नै भएको बताए । उनले अब नेपाल रेमिट्यान्समा मात्रै भरपर्दा डरलाग्दो अवस्था आउन सक्ने भन्दै रेमिट्यान्समा मात्रै भर पर्न नहुने बताए ।

त्यस्तै बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताए । उनले आईटीको विकास तीव्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीलाई रोक्न नसक्ने भन्दै सरकारले सोच्नुपर्ने अवस्था रहेको बताए ।

अध्यक्ष गोल्यानले नेपालले सबैभन्दा बढी कृषिजन्य सामग्री आयात गर्ने भएकाले कृषिमा सम्भावना धेरै रहेको बुझ्न आवश्यक रहेको बताए । उनले नेपाली जङ्गलबाट ५ खर्ब बराबरको जडिबुटी निर्यात गर्नसक्ने अवस्था रहेकाले अब निजी र सामुदायिक वनलाई सरकारले खोल्नुपर्ने बताए ।

अध्यक्ष गोल्यानले जडिबुटी, जलविद्युत र कृषिमा लगानी बढाएर निर्यातमार्फत नेपालको व्यापार घाटा कम गर्न सकिने बताए । उनले नेपालमा कपासदेखि गार्मेन्ट उद्योगको विस्तारमार्फत स्टेस्टाइल उत्पादन वृद्धि गर्दा वार्षिक २ लाख नेपालीलाई रोजगारी दिन सकिने बताए ।

अध्यक्ष गोल्यानले कृषि र कृषि प्रशोधनमा ठूलो सम्भावना भए पनि तत्काल अपेक्षा गरेजस्तो प्रतिफल नआउने बताए । उनले नेपालमा रहेको अल्लोबाट नेपालीहरूलाई लगाउन पुग्ने कपडाहरू नेपालमा नै उत्पादन गर्न सकिने बताए । .उनले नेपालको खुला सिमाना र सरकारको नीतिले गर्दा सबैभन्दा कम प्रोत्साहन भनेको नै कृषिमा रहेको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर