पशुपतिनाथमा भक्तजनले चढाएका सामग्री बिक्री गर्न थालियो

पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरु गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरूले अर्पण गरेका गहना, लत्ताकपडालगायतका जिन्सी सामग्रीहरूलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो ।

कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरु गर्न थालेको जनाएको छ । मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका सामग्रीहरूलाई तोकिएको मूल्यमा बिक्री गर्न थालिएको पशुपति क्षेत्र विकास कोष संस्कृति, संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले बताए ।

भक्तजनले श्रद्धाले चढाएका सामग्रीहरूलाई सर्वप्रथम कोषको गणना कक्षमा ३२ प्रकारका सामग्रीहरूलाई आम्दानीको रूपमा दाखिला गरिने र सोही सामग्रीहरू बिक्री कक्षमार्फत बिक्री गरिने उनले बताए । उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे । उनले पशुपति विकास कोषको आयलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित सामग्रीहरुको बिक्री गरिएको स्पष्ट पारे ।

त्यसैगरी पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका शिव महापुराणलगायत अन्य विभिन्न प्रकाशनहरूलाई पनि बिक्री गरिएको उनले जनाए । सामग्री रहुन्जेलसम्म मात्रै बिक्री गरिने पनि उनले बताए ।

महाशाखा प्रमुख पराजुलीले मन्दिरमा जम्मा हुने नगद रुपैयाँलाई बैंकमा दैनिक रूपमा जम्मा गर्ने गरिएको बताए । उनले दानपेटिकाबाट उठेको रकम नेपाल इन्भेष्टमेण्ट बैंकमा सोही दिन दाखिला गर्ने, विशेष पूजाको रकम एसबिआई बैंकमा दाखिला गर्ने र तेस्रो देशबाट आएका भक्तजनबाट लिइने रकम सनराइज बैंकमा दाखिला गर्ने गरिएको जानकारी गराए ।

पशुपतिनाथ मन्दिरका मुलभट्ट, भट्ट, भण्डारीहरू र कर्मचारीहरूलाई कोषमा जम्मा भएको रकमबाटै तलब तथा सेवा सुविधा दिइने गरिएको पनि उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर