कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणापत्रको सैद्धान्तिक विषयमा छलफल

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बनाउँदै गरिएको घोषणापत्रको सम्बन्धमा छलफल भएको छ ।

शुक्रबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको तर्फबाट बन्दै गरेको घोषणापत्रको सम्बन्धमा छलफल भएको हो ।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको थियो । बैठकमा संयोजक शर्माले घोषणापत्रको सैद्धान्तिक पक्षका बारेमा कुरा राखेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए । त्यस्तै घोषणपत्र मस्यौदा उपसमितिका संयोजक डा. स्वर्णिम वाग्लेले पनि घोषणापत्रको संक्षिप्त सारको विषयमा कुरा राखेको उनले जानकारी दिए ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउव लगायत पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य गरी १२ जनाले घोषणापत्र निर्माणको सम्बन्धमा सुझावहरू दिएका पनि सहमहामन्त्री परियारले बताए ।

घोषणापत्र तयारी समितिले डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको घोषणापत्र मस्यौदा उपसमितिले घोषणापत्र लेखनको काम तीव्र गतिमा गरिरहेको उनले बताए ।

सो उपसमितिमा नेपाली कांग्रेसका केन्द्रीयसदस्य डा. गोविन्दराज पोखरेल, कांग्रेस नेता गेजा शर्मा वाग्ले, महासमिति सदस्य डा. कृष्ण पौडेल, युवा नेता प्रताप पौडेल, नेता प्रीति मण्डल र सदस्य सचिवको रूपमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले काम गरिरहेका सहमहामन्त्री परियारले जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर