देशको निकासका लागि गठबन्धन सरकारको विकल्प छैन : मोहन आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट रसुवा जिल्लाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको निकासका लागि गठबन्धन सरकारको विकल्प नभएको बताएका हुन् ।

उनले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण भएको भन्दै गठबन्धन सरकारले पनि संविधानको रक्षा र वृहत् शान्ति सम्झौताका अपूर्ण कामहरूलाई पूर्णता दिन नसके देशको निकास नहुने बताए । नेता आचार्यले गत निर्वाचनबाट बहुमतको कम्युनिष्ट सरकारले कुनै राम्रा काम गर्न नसकेको भन्दै अबको देश विकासको विकल्प गठबन्धन मात्रै रहेको बताए ।

उनले गठबन्धनले पनि देशलाई सही दिशा दिन नसके देशको अवस्था कल्पनायोग्य नरहने दाबी गरे । उनले आम नागरिकको गठबन्धनप्रतिको मायाका कारण आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरू विजयी बन्ने सुनिश्चित रहेको पनि बताए ।

उनले गठबन्धनका साझा उम्मेदवारहरूले रसुवामा निर्वाचन हारेमा पूरा रसुवाबासीले नै हार्ने जिकिर गरे । उनले रसुवा जिल्लाको भविष्य उज्ज्वल बनाउन चुनावका लागि आवश्यक तयारी थाल्न पनि निर्देशन दिए ।

उनले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *