भवानीदल गणको आयोजनामा ‘प्रथम शिवपुरी ट्रेल दौड र साइक्लिङ प्रतियोगिता’ हुँदै

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, लिपिकोट ब्यारेक काठमाडौंमा तैनाथ नेपाली सेनाको भवानीदल गणले ‘प्रथम शिवपुरी ट्रेल दौड र साइक्लिङ प्रतियोगिता-२०२२’ आयोजना गर्ने भएको छ।

आइतबार बूढानीलकण्ठ नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर गणले प्रतियोगिताबारे जानकारी गराएको हो।

गणका गणपति प्रमुख सेनानी रवि केसीले आन्तरिक तथा बाह्य पर्यटक गतिविधिलाई मध्यनजर गरी समग्रमा प्रकृति संरक्षणमा थप टेवा पुर्‍याउन, खेलकुद पर्यटनको विकास गर्न साथै खेलकुदमार्फत खेलाडी उत्पादनमा सघाउ पुर्‍याउने उद्देश्यले कात्तिक १९ गते शिवपुरी क्षेत्रमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

गणको आयोजना, बूढानीलकण्ठ र टोखा नगरपालिकाको सहआयोजना र केही संस्थाहरूको सहयोगमा ‘संरक्षणमा सबैको सहकार्य’ भन्ने अवधारणाका साथ प्रतियोगिता सञ्चालन हुने गणपति प्रमुख सेनानी केसीले बताए।

प्रतियोगितामा २२ किलोमिटर खुल्ला पुरुष ट्रेल दौड, ३० किलोमिटर खुल्ला साइक्लिङ, १५ किलोमिटर खुल्ला महिला ट्रेल दौड र आमन्त्रित अतिथिहरूको लागि ३ किलोमिटर पैदलयात्रा समावेश गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रतियोगितामा विभिन्न सैनिक, गैरसैनिक, अन्य सुरक्षा निकायका खेलाडीहरू तथा इच्छुक पर्यटकरूको सहभागिता रहनेछ।

प्रतियोगितामा २२ किलोमिटर पुरुष ट्रेल दौडतर्फ पहिलो हुनेलाई एक लाख, दोस्रोलाई ७० हजार, तेस्रोलाई ५० हजार, चौथोलाई ३० हजार, पाँचौंलाई २५ हजार, छैटौंलाई २० हजार, सातौंलाई १५ हजार, आठौंलाई १० हजार, नवौंलाई ७ हजार र दशौंलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

३० किलोमिटर साइक्लिङमा पहिलो हुनेले ७० हजार, दोस्रोले ५० हजार, तेस्रोले ३५ हजार, चौथोले २५ र पाँचौंले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै १५ किलोमिटर महिला ट्रेल दौडमा पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २० हजार र पाँचौंलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।

साथै प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूको प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न तथा मनोबल बढाउन सम्पूर्ण प्रतिस्पर्धीहरूलाई टी–शर्ट र प्रमाणपत्रको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले असोज ३१ गतेदेखि कात्तिक १७ गतेसम्म शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय, पानीमुहान बूढानीलकण्ठ, शिवपुरी ब्यारेक, बूढानीलकण्ठ र टोखा नगरपालिकाको कार्यालयमा आफ्नो नाम दर्ता गर्नसक्ने जनाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर