प्रचण्डको आरोप- ‘ओली जालझेल गरेर नेतृत्वमा पुगेका हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे । अध्यक्ष दाहालले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रूपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरीमा फस्ने दाबी गरे ।

उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरूलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरूलाई आग्रह गरे ।

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गरे । उनले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाए ।

उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) धेरै पहिलाबाट नै हँसिया हतौडा र रुखलाई एक बनाइसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताए काठमाडौं, निर्वाचन क्षेत्र नम्बर २ बाट एउटा विकासे मन्त्री बनाउने प्रतिबद्धता जनाए ।

अध्यक्ष दाहालले आगामी निर्वाचनमा निर्वाचन चिह्नलाई लिएर आग्रह, पूर्वाग्रह हुने गरेको भन्दै कोही नअल्मलिइकन गठबन्धनका उम्मेदवारहरू जिताउन मतदान गर्न आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर