सिपाहीकाे पेन्सन अवधि १६ वर्ष कायम गर्न सरकार सकारात्मक : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूको पेन्सन अवधि १६ वर्ष कायम गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

साेमबार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरी जवानहरूलाई प्रोत्साहित गर्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरूसँग यसबारे निर्णय गर्न छलफल गरिरहेको छ बताए ।

यो निर्णयपछि सिपाहीहरूले निश्चित अवधि संगठनमा उत्साहित भएर काम गरेर बाँकी समय उर्जाशील रहँदै अन्य क्षेत्रमा काम गर्नसक्ने खाणले बताए । हाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले सेवा सुरु गरेको २० वर्षपछि मात्रै पेन्सन पाउने गर्छन् ।

नेपाली सेनामा २९ पुस २०७७ मा नै पेन्सन अवधि १६ वर्ष बनाउने शर्तसहितको निर्णय भइसकेको छ ।

गृहमन्त्री खाणले बर्सेनि आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन् । उनले विश्वमा नै बर्सेनि आपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताएका हुन् ।

उनले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरूको प्रयोग गरी आपराधिक गतिविधिहरू हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर आपराधिक क्रियाकलापहरूको नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले नेपाल प्रहरीले पनि आपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताए ।

गृहमन्त्री खाणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिबद्ध रहेको बताए । उनले नेपाल प्रहरीका जवानहरूको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको उल्लेख गरे ।

गृहमन्त्री खाणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाणले गत वर्ष सरकारले प्रहरी जवानहरूको क्षमता विकासका लागि वभिन्न कार्यक्रम र योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मद्दत पुगेको बताए ।

प्रतिक्रिया

2 thoughts on “सिपाहीकाे पेन्सन अवधि १६ वर्ष कायम गर्न सरकार सकारात्मक : गृहमन्त्री खाण

  1. पेन्सन १६ बर्षमा बनाइदिन हुन बिनम्र अनुरोध

Leave a Reply to प्रहरी जवान हरी प्रसाद चौधरी Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर