गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि कांग्रेसका नेताहरूले टिकट पाएनन् : प्रकाशशरण महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनका लागि आफ्नै पार्टीका प्रभावशाली नेताहरूले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारूढ गठबन्धनका नेताहरूलाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पनि पार्टीभित्रका केही प्रभावशाली नेताहरूलाई आगामी निर्वाचनका लागि टिकट दिन नसकिएको बताएका हुन् ।

उनले गठबन्धनलाई मिलाउनुपर्ने कारणले पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट धेरै ठाउँमा उम्मेदवार नरहेको बताए । उनले आगामी गठबन्धन सरकार पनि नेपाली कांग्रेसको नेतृत्वमा बन्ने उल्लेख गर्दै लोकतन्त्रलाई संस्थागत गर्ने, संविधानमा भएका व्यवस्थाहरूलाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने नै नेपाली कांग्रेस पार्टीको लक्ष्य भएको जिकिर गरे ।

प्रवक्ता महतले आगामी गठबन्धन सरकारले लोकतान्त्रिक मूल्य र मान्यता, कानूनी शासनको आधारशिलामा रहेर देशमा समृद्धि सिर्जना गर्ने, हरेक नागरिकलाई कुनै पनि वर्ग, समूह, क्षेत्र, समृद्धिको प्रकाशबाट कोही पनि वञ्चित हुन नदिने ग्यारेन्टी लिने बताए । उनले गठबन्धन सरकारले आगामी निर्वाचन जितेको खण्डमा कुनै पनि नेपाली नागरिकलाई आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।

उनले नेपाली युवाहरूलाई देशभित्र रोजगारी प्रप्त नभएका कारणले विदेशिनुपर्ने अहिलेको बाध्यतालाई उल्ट्याएर स्थिर, जनताप्रति, अधिकारप्रति समर्पित सरकार निर्माण गर्ने बताए । प्रवक्ता डा. महतले देशभित्र नै रोजगारी सिर्जना गर्ने, लगानी वृद्धि गर्ने र उद्योगमैत्री वातावरण सिर्जना गर्ने र वातावरणमैत्री अर्थतन्त्रलाई अघि बढाइ देशमा रहेको ठूलो व्यापार घाटालाई कम गर्ने बताए ।

उनले पूर्वीय सभ्यता, संस्कृतिलाई कतिपय अवस्थामा बेवास्ता गरेको भन्दै आगामी दिनमा प्राथमिकतामा राखेर आफ्नै संस्कृति र सभ्यतालाई अघि बढाउने बताए ।

प्रवक्ता महतले पार्टीमा अहिले सबै पक्षहरु सन्तुष्ट रहेको दाबी गर्दै अहिले सहमतिमा नै निर्वाचनमा गठबन्धन जिताउनका लागि लागिपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *