काठमाडौं-१ मा चौथो जितको दौडमा प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पार्टी केन्द्र र आफ्नो क्षेत्रका जनतासँग बलियो प्रभाव भएका नेता हुन्। २०६४ मा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनपछि काठमाडौं क्षेत्र नं. १ बाट उनले चुनाव जित्दै आएका छन्।

नेता सिंह यसपटक पनि चौथो जितको लक्ष्यसहित चुनावी दौडमा छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि उनले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन्।

काठमाडौं क्षेत्र नं. १ मा कांग्रेसबाट सिंहसहित राप्रपाबाट रवीन्द्र मिश्र, एमालेबाट किरण पौडेल उम्मेदवार छन् भने पूर्वडीआइजी रमेश खरेल तथा सामाजिक अभियन्ताको छवि बनाएका पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। यस क्षेत्रमा ३२ जना उम्मेदवार छन्।

२०७४ को निर्वाचनमा सिंहका मुख्य प्रतिस्पर्धी मिश्र थिए। उम्मेदवारको व्यक्तित्व र आम चर्चाका हिसाबले यसपटक पनि यिनै दुई उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तर, स्थानीय निर्वाचनको मत परिणामले भने यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने देखिन्छ।

काठमाडौं– १ मा काठमाडौं महानगरपालिकाका वडाहरू १०, ११, २९ र ३१ पर्दछन्। स्थानीय तहको निर्वाचन परिणामलाई हेर्दा यस क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। त्यसमा पनि सत्तारूढ दलहरूबीचको गठबन्धनका कारण कांग्रेस नेता सिंहलाई चुनाव जित्न झनै सहज हुनेछ।

यस क्षेत्रमा कांग्रेसका वडा अध्यक्षका उम्मेदवारहरूले पाएको मत ९ हजार ८९५ हुन आउँछ। त्यस्तै एमालेको ९ हजार ५४१, माओवादी केन्द्रको १ हजार १५९, राप्रपाको १ हजार ३७६, विवकशील साझाको २७३, स्वतन्त्र उम्मेदवारको १०१ र अन्य दलहरूका उम्मेदवारको १०९ मत रहेको छ।

काठमाडौं क्षेत्र नं. १ मा कांग्रेस नेता सिंहको पार्टीगत र व्यक्तिगत प्रभाव बलियो छ। अर्कातिर मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएका राप्रपाका उम्मेदवार मिश्र २०७४ मा सिंहसँग पराजित भइसकेका नेता हुन्।

वैकल्पिक राजनीतिको वकालत गर्दै अघि बढेका विवेकशील साझाका पूर्वनेता मिश्रको अजेन्डामा व्यापक फेरबदल हुनु, राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको माग गर्नुले मिश्र आलोचना खेपिरहेका छन्। तर, कांग्रेस नेता सिंह अजेन्डाप्रति दृढ र व्यक्तित्वमा स्थिर छन्। यसले पनि चुनावी परिणामलाई प्रभावित पार्न सक्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर