कैलाली-४ मा कांग्रेस नेता बलायरलाई जित्न सहज

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नं. ४ मा दुई जना ‘हेभिवेट’ नेताहरू चुनावी प्रतिस्पर्धामा छन्।

डोटी छोडेर कैलाली रोजेका कांग्रेसका वीरबहादुर बलायर र माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका लेखराज भट्टबीच हुन लागेको चुनावी प्रतिस्पर्धा  राेचक हुने देखिएकाे छ। यद्यपि स्थानीय निर्वाचनकाे मतपरिणाम र सत्तारूढ दलहरूबीचकाे गठबन्धनका कारण यस क्षेत्रमा कांग्रेस अगाडि छ।

यस क्षेत्रमा प्रतिनिधि सभामा यी दुई नेतासहित दश जना उम्मेदवार छन्। तर, मुख्य प्रतिस्पर्धा भने यिनै दुईबीच हुुनेछ। भट्ट अहिले एमालेका सचिव र सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज हुन् भने बलायर नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुन्।

बलायर डोटीबाट निर्वाचन लड्दै आएका थिए। डोटीबाट प्रतिनिधि सभामा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले टिकट पाएसँगै बलायर कैलाली–४ मा झरेका हुन्।

भौतिक पूर्वाधारमन्त्री भइसकेका बलायर २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा डोटीबाट वाम गठबन्धनका प्रेम आलेसँग पराजित भएका थिए। आलेले ३२ हजार ५ सय १० मत ल्याएर विजयी हुँदा बलायरले ३० हजार ८ सय ७८ मत पाएका थिए।

तत्कालीन माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टले वाम गठबन्धनको तर्फबाट २०७४ सालको निर्वाचनमा कैलाली–४ बाट ३१ हजार ३ सय ५९ मत ल्याएर विजयी भएका थिए। उनीसँग कांग्रेसका सुनिल भण्डारी पराजित भएका थिए। भण्डारीले २० हजार ९ सय ६० मत मात्रै प्राप्त गरेका थिए।

भट्टले व्यवस्थापिका २०६३ बाट संसदीय यात्रा प्रारम्भ गरेका थिए। त्यतिबेला उनी अन्तरिम विधायिका बनेका थिए। भट्ट २०६४ सालको निर्वाचनमा कैलाली–५ बाट विजयी भएका थिए। भट्ट उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री, श्रम तथा यातायात व्यवस्थामन्त्री र विज्ञान प्रविधि मन्त्री भइसकेका छन्।

कैलाली–४ मा मोहन्याल गाउँपालिका वडा नम्बर ५, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र गोदावरी नगरपालिका गरि चारवटा स्थानीय तह पर्दछन्। यो क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने कांग्रेस अगाडि देखिन्छ ।

कांग्रेसले २३ हजार ७३३, एमालेले १७ हजार ८५, माओवादी केन्द्रले ९ हजार २ सय ८६ पाएका थिए। त्यसैगरी नेकपा एकीकृत समाजवादीले ४ हजार ४९ मत पाएको थियो। गठबन्धनका कारण कांग्रेसका उम्मेदवार भट्टको जित झनै सहज हुने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर