झिलिमिली बत्तीको मूल्य १० प्रतिशतसम्म वृद्धि, बजारमा अभाव

तिहारमा प्रयाेग हुने झिलिमिली बत्तीको मूल्य गत वर्षको भन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ ।

नेपाल विद्युतीय व्यावसायी महासंघले गत वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो ।

महासंघले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिका कारण बत्तीको मूल्य बढेर आएको बताएको छ । तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिदबिक्री बढ्न थालेको छ । फूलहरूको र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला, फूलजस्ता वस्तुहरूको बिक्री तथा खरिद सुरु भएको छ ।

अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि बजारमा सुरु भएको महासंघले जनाएको छ । महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमा समेत केही कमी आउने बताए । उनले आयातमा घटेको तथा गत वर्षको तुलनामा विद्युतीय झिलिमिली बत्तीको मूल्यसमेत ८ देखि १० प्रतिशतसम्म बढेको बतााए ।

पोखरलले मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढ्नाले मूल्य वृद्धि भएको बताए । उनले तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतितपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको बताए ।

पोखरेलले गत वर्ष नेपालमा २५ देखि ३५ प्रतिशत अर्थात् करिब ४० करोडको विद्युतीय बत्ती आयात भएको भन्दै यो वर्ष करिब ३० करोड रुपैयाँ बराबरको आयात हुने अनुमान रहेको बताए । उनले कोभिडभन्दा अघि वि.सं. २०७६ मा तिहारको समयमा नेपालमा करिब ६० देखि ७० करोड बराबरको झिलिमिली बत्ती आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ती आयात हुन थालेको बताए ।

महासचिव पोखरेलले झिलिमिली बत्तीको आयातका लागि नेपालबाट व्यावसायीहरूले अर्डर दिनुपर्ने समयमा चीनका शहरहरूमा लकडाउन भएकाले अर्डर गरेका सामान समयमा नेपाल आइनपुग्दा बजारमा बत्तीहरूको अभाव रहेको बताए ।

उनले तातोपानीको नाका बन्द रहनु र रसुवागढीको नाका पनि सहजतापूर्वक सञ्चालनमा आउन नसक्नुले यो वर्षको झिलिमिली बत्तीको आयात प्रभावित भएको बताए । पोखरेलले सामान आयात गर्न प्रतितपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने हुँदा यो वर्ष धेरै सामान आयात नभएको बताए ।

त्यस्तै विद्युतीय व्यापारीहरूले ग्राहकको मागअनुसार बजारमा तिहारका लागि आवश्यक झिलिमिली बत्ती नभएको बताएका छन् । काठमाडौंका विद्युतीय व्यापारी मनराज खतिवडाले बत्तीहरूको मूल्य बढेर आएको बताए । अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भए पनि ग्राहकहरूले खोजेको सामान नभएको बताए ।

नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ती वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ । । जसमध्ये आयात हुने झिलिमिली बत्तीको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले बताएको छ ।

त्यस्तै क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरूमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासंघका महासचिव पोखरेलले बताए । तिहारमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, एलईडी डिस्को लाइट, एलईडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाइट अत्यधिक बिक्री हुने गर्दछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर