महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

विभागीय प्रतिद्वन्दी एपीएफ क्लबमाथि ५ रनको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय महिला क्रिकेटको स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन जोड्न सक्यो । समान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफका लागि रोमा थापाले सर्वाधिका२६ रनको पारी खेलिन् । रजमती ऐरीले अविजित १२ रनको पारी खेलेको खेलमा अन्य ब्याटरले भने राम्रो स्कोर छुन सकेनन् ।

अधिकांश राष्ट्रिय खेलाडीले भरिएको एपीएफकी ज्योती पाण्डे र सीता रानामगरले समान ७ रनको पारी खेल्दा इन्दु बर्माले मात्र २ रन जोडिन् । ममता चौधरीले ९ रनको पारी खेल्दा सरिता मगरले पनि समान ९ रन नै जोडिन् । एपीएफको इनिङलाई सस्तैमा समेट्ने क्रममा पुलिसकी ईश्वरी विष्टले सर्वाधिक २ विकेट निकाल्दा रुबिना क्षेत्री, संगीता राई र हिरण्मय रोयले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन जोड्न सफल भएको थियो । पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ रनको पारी खेल्दा अर्की ओपनर कविता कुँवरले ११ रनको व्यक्तिगत स्कोर गरिन् । सम्झना खड्काले २१ रन बटुल्दा कप्तान रुबिनाले ८ तथा कविता जोशीले १३ तथा अपसरी बेगमले २ रन जोडे । बलिङतर्फ नेरी थापा, इन्दु बर्मा र सीता रानामगरले समान १÷१ विकेट लिए । यस पराजयसँगै एपीएफ महिला क्रिकेट प्रतियोगितामा रजत पदकमा चित्त बुझाउन बाध्य बन्यो ।

यस्तै मंगलबार नै भएको अर्को खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित निकाल्दै कास्य पदक निकाकलेको छ । लुम्बिनीले दिएको ८८ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेशले १६.१ ओभरमा ३ विकेट गुमाएर भेट्टाउन सफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर