सुनसरी-४ मा कांग्रेसका उम्मेदवार मन्त्री कार्कीलाई चुनाव जित्न विगतको भन्दा सहज

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार संघीय सरकारका कानून, सञ्चार तथा सूचना प्रविधिमन्त्री, पार्टीका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई यसपटक चुनाव जित्न झनै सहज हुने देखिएको छ। रोचक त के छ भने यस क्षेत्रमा प्रतिनिधि सभामा २५ जना उम्मेदवार रहेकोमा मन्त्री कार्कीबाहेक सबै उम्मेदवार नयाँ छन्। सबै उम्मेदवार पुरुष हुन्।

अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार रमेश श्रेष्ठलाई छ हजार ५९७ मतान्तरले कार्कीले पराजित गरेका थिए। उनले ३२ हजार ३४७ मल प्राप्त गर्दा एमालेका उम्मेदवार श्रेष्ठले २५ हजार ७५० मत पाएका थिए।

गत चुनावमा एकल दलबाट प्रतिस्पर्धा गर्दासमेत मुख्य प्रतिस्पर्धी दल एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेका कार्कीलाई यसपटक सत्ता गठबन्धनमा रहेका अन्य दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चासहितको समर्थन छ। जसका कारण उनको जित यसपटक झनै सहज देखिन्छ।

यस क्षेत्रलाई कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ भने स्थानीय तहको निर्वाचनमा तीन वटै गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा प्रमुख पद कांग्रेसले जितेको छ ।

यसपटक नेकपा एमाले र जसपा गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैत चुनावी मैदानमा छन्।

त्यसैगरी कार्कीको क्षेत्रमा राप्रपाबाट विध्यानन्द यादव, नेपाल मजदुर किसान पार्टीबाट अर्जुनप्रसाद भट्टराई, नेकपा (माओवादी समाजवादी) बाट कुमार राई, जनता प्रगतिशील पार्टीबाट गुलावचन मुसहर, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट कुञ्जीलाल यादव, नेपालका लागि नेपाली पार्टीबाट डम्बरबहादुर घिमिरे, जनमत पार्टीबाट देवराम यादव, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मोहम्मद सद्धिक मियाँ, राप्रपा नेपालबाट सत्यनारायण राम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीवनकुमार श्रेष्ठ, एकीकृत शक्ति नेपालबाट गोपाल नेपाल प्रतिस्पर्धामा छन्।

यस्तै स्वतन्त्र उम्मेदवार डा. खालिद हुसेन हक, कुमार राई, अब्बदुलाह अंसारी, केशव उराँव, समीर मंसुरी, श्यामप्रसाद ढकाल, मनोजकुमार मण्डल, विधानन्दप्रसाद साह, बालेश्वर यादव, फेकनराम मोची, धिरज बर्मा, डिल्लीबहादुर विष्ट, केशव कार्कीको पनि प्रत्यासी छन्।

यो क्षेत्रमा एक लाख २८ हजार ६५ जना मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर