प्रत्यक्षतर्फ सत्ताइस प्रतिशत मतपत्र छपाइ सकियो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ बुधबारसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।

छापिएकामध्ये प्रतिनिधि सभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका छन् । दुवै तहमा गरी कुल करिब चार करोड थान मतपत्र आवश्यक पर्ने भएकामा बुधबारसम्म करिब २७ प्रतिशत मतपत्र छपाइ भएको छ ।

निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा उच्च सुरक्षा प्रबन्धसहितमा मतपत्र छपाइ भइहेको जनाएको छ । सो प्रणालीअन्तर्गत प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ बिहीबारदेखि दोस्रो चरणको मतपत्र ढुवानी सुरु हुने आयोगले जनाएको छ ।

पहिलो चरणअन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । प्रतिनिधि सभातर्फ देशभरका लागि कूल दुई करोड चार लाख २१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ । आयोगले मतदाता शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै सम्बन्धित जिल्लामा पठाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर