सेना र पार्टीमा कब्जा गरेर सी चिनफिङ सधै शक्तिशाली

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को पाँच वर्षमा एक पटक हुने महाधिवेशन आइतबारदेखि राजधानी बेइजिङमा जारी छ । पाँच दिनसम्म चल्ने महाधिवेशनबाट राष्ट्रपति सी चिनफिङ अझै शक्तिशाली नेतृत्वको रुपमा स्थापित हुने भएका छन् ।

दुई पटकसम्म राष्ट्रपति भइसकेका सीको कार्यकाल सन् २०२३ सम्म मात्र छ । त्यसैले यो महाधिवेशनले विधान संशोधन गरेरै भए पनि सीका लागि अर्को कार्यकालको ढोका खोल्ने तयारी गरेको छ ।

चीन पहिलेजस्तो विश्वका लागि रहस्यमय देश हुन छोडेको छ, तर त्यहाँको राजनीति भने सधैं नै अपारदर्शी छ । धेरै निर्णयहरु अहिले पनि बन्द कोठाभित्र गरिन्छ, गोप्य ढंगले लागू गरिन्छ । त्यसैले सीपीसी र राष्ट्रपति सीको योजना बुझ्न मुस्किल छ । तिनै सी अब माओत्से तुङपछि चीनका सबैभन्दा शक्तिशाली नेता बन्ने भएका छन् ।

एक दशक अघिम्म सीको बारेमा कमैलाई मात्र जानकारी थियो । उनलाई धेरैले एउटा राजकुमारको रुपमा चिन्थे, किनकि उनका बुबा चिनियाँ क्रान्तिका एक नेता थिए । उनको पारिवारिक पृष्ठभूमिका कारण सीलाई पार्टीका ठूला नेताहरुको समर्थन पाउन मद्दत ग¥यो । यसले चिनियाँ कम्युनिस्ट पार्टीबाट सत्तामा आउन उनलाई सहज भयो ।

‘राजनीतिक कद बढ्नुअघि सीलाई यस्तो व्यक्ति मानिन्थ्यो, जो कसैसँग पनि सम्झौता गर्न सक्छ,’ बोस्टन युनिभर्सिटीका चीनको राजनीतिक मामिलाविज्ञ जोसेफ फ्युस्मिथले भने । तर, पछिल्लो दश वर्षमा सीको शासनशैलीप्रति कसैले प्रश्न नै उठाएनन् र उनलाई कसैको चुनौती पनि भएन, यो कसरी सम्भव भयो त ?

चीनमा कम्युनिस्ट पार्टीका संस्थापक माओत्से तुङले एक पटक भनेका थिए, राजनीतिक शक्ति बन्दूकको नालबाट निस्किन्छ । सन् १९४९ मा पीपुल्स रिपब्लिक अफ चाइनाको स्थापनापछि माओले पीपुल्स लिबरेसन आर्मी (पीएलए) माथि सरकारको हैन पार्टीको नियन्त्रण हुने निर्णय गरे ।

त्यसबेलादेखि अहिलेसम्म सीपीसीका नेता नै सेन्ट्रल मिलिट्री कमिसन (सीएमसी) का अध्यक्ष हुने गरेका छन् । सी यो मामिलामा आफ्नो पूर्ववर्ती हु जिन्ताओको तुलनामा भाग्यशाली रहे, किनकि उनी चाँडै सीएमसीको अध्यक्ष बने र सेनाभित्रको गतिरोध अन्त्य गर्न ढिलाइ गरेनन् ।

सन् २०१४ र २०१५ मा सीएमसीका पूर्व उपाध्यक्ष सू चाइहोउ र पीएललएका पुर्व जनरल गू बोक्सियोंग माथि भ्रष्टाचारको आरोप लाग्यो । कारबाही हुने बेलामा उनीहरु अवकाश पाइसकेका थिए । तर, सीले उनीहरुलाई निशाना बनाउनुको कारण थियो, पीएलएमा चिनियाँ नेता जियांग जेमिनको वंशवाद कम गर्नु ।

यसले सेनामा रहेका अधिकारीहरुलाई सीको दायराभन्दा बाहिर जानेबित्तिकै नोक्सानी बेहोर्नुपर्ने सन्देश गयो । सन् २०१५ मा सीले सेनाको ढाँचामा नै परिवर्तन गरे । उनले सेनाका चार हेडक्वार्टर स्टाफ, पोलिटिक्स, लजिस्टिक्स र आर्मामेन्ट (युद्ध सामग्री) को अन्त्य गरेर त्यसको स्थानमा १५ वटा साना एजेन्सीहरु बनाए ।

नयाँ ढाँचाका कारण सेनाका अलगअलग शाखालाई सिधै आदेश दिन मिल्ने भयो । साथै सबैभन्दा माथि सीप्रति पूर्ण निष्ठा राख्न पटकपटक प्रतिबद्धता जनाइयो । केही महिनाअघि चीनको सेनाको आधिकारिक समाचारपत्र द पीएलए डेलीमा एक लेख छापिएको थियो, जसमा सीएमसी नै सर्वेसर्वा भनिएको थियो । पीएलएबाट पार्टी र विशेषगरी सीको सत्ता कायम राख्नको लागि सबै आदेशलाई पूरा गर्ने इमानदारिता प्रकट गरिएको थियो ।

सेनामाथिको नियन्त्रणपछि आन्तरिक सुरक्षालाई पनि पूरा नियन्त्रणमा राख्न जरुरी थियो । सी सत्तामा आएको दुई वर्षपछि प्रशासनले पूर्व डोमेस्टिक सेक्योरिटी चिफ जूू योंगकांगलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको पुष्टि ग¥यो । उनी सीका प्रतिद्वन्द्वी र राजनीतिक घरानाबाट आउने बो शिलाईका नजिक मानिन्थे । यो जाँचले राजनीतिक रुपमा हलचल नै मचाइदियो ।

युरेशियाका ग्रुपका वरिष्ठ चिनियाँ विश्लेषक नेल थोमस भन्छन्, ‘सी चिनफिङ एउटा यस्तो निर्मम शासक भएर निस्किए, जसले सत्ता पाउनका लागि सिस्टमको सहारा लिए अनि सत्तामा आइसकेपछि सिस्टम नै फेरिदिए । सीलाई सत्तामा ल्याउन जो कम्युनिस्ट नेताहरुले समर्थन गरेका थिए, सीको सत्ता कब्जाको गति र स्तर देखेर उनीहरु नै हैरान भए ।’

विश्लेषकहरु सीको भ्रष्टाचारविरोधी अभियान आफ्ना प्रतिद्वन्द्वीलाई निशाना साध्न र पार्टीभित्र बनिरहेको आफूविरुद्धको गुटलाई तोड्नका लागि प्रयोग गरिएको बताउछन् । एक दशकयता चीनमा ४७ लाखभन्दा धेरै व्यक्तिलाई भ्रष्टाचारविरुद्धको एजेन्सीले जाँच गरेको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका राजनीतिक विश्लेषक भिक्टर सिह भन्छन्, ‘पछिल्लो दुई वर्षमा सीले तिनै सुरक्षा अधिकारीलाई महत्व दिएका छन्, जसले उनलाई पहिलो पटक सत्तामा आउँदा साथ दिएका थिए । सुरक्षा निकाय पनि तिनै अधिकारीले चलाइरहेका छन्, जो सीका विश्वासपात्र हुन् ।’

सीले आफ्नो विश्वासपात्रलाई पार्टीको महत्वपूर्ण क्षेत्रीय पदहरुमा तैनाथ गरेका छन् । बेइजिङ, संघाई जस्ता महत्वपूर्ण सहरहरुमा पार्टी सचिवको रुपमा नियुक्त गरेका हुन् । ३१ वटामध्ये २४ प्रान्तीय स्तरको पार्टी सचिव सीको राजनीतिक सहयोगी छन् । जो कुनै न कुनै रुपमा सीका नजिक थिए ।

२०१८ मा चीनको संविधानमा ‘एक नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमाथि सी चिनफिङको विचार’ समावेश गरियो । यो सुन्दा सामान्य विषय भए पनि संविधानमा उनको नामको एक विचारधारा जोडिनु, उनको विरासतलाई अझ बलियो बनाउनु थियो । यस्तो अवसर सीअघि माओलाई मात्र मिलेको थियो ।

यहाँसम्म कि चीनको आधुनिकीकरणको आर्किटेक्ट मानिने डेंग सिआओपिंगको नाममा केवल एउटा सिद्धान्त मात्र जोडिएको छ । जब कि सीभन्दा अघि चीनमा शासन गर्ने जियांग जेमिन र हु जिन्ताओको नामले संविधानमा कुनै विचार वा सिद्धान्त जोडिएको छैन ।

सी चिनफिङको विचारको मतलब के हो ? यो एउटा बहसको विषय हुनसक्छ । तर, विश्लेषक भने यो बहसको कुनै मतलब नरहेको र केवल सत्ताको खेल भएको बताउँछन् । अगस्टमा शिक्षा मन्त्रालयले सीको विचारलाई पाठ्यक्रमकोे हिस्सा बनाउने योजना सुरु गरेको छ । तर, विश्लेषकहरु भने सीले आफ्नो विचारधारा सही भएको र यसलाई सबैले स्वीकानुपर्ने मान्यताबाट अघि बढेको बताउँछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर