सशस्त्रका डीएसपी गैरेलाई ‘बेष्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’ र सिंहलाई ‘बेष्ट रिसर्च’ अवार्ड

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरेले ‘बेष्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्राप्त गरेका छन् । एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा सञ्चालित छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा उनी सर्वोत्कृष्ट भएका हुन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित दीक्षान्त समारोहमा महानिरीक्षक राजु अर्यालले उक्त अवार्ड प्रदान गरे । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैरेलाई ‘वेष्ट एकेडेमिक अवार्ड’ पनि प्रदान गरे ।

यस्तै रिसर्चतर्फ प्रथम भएका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषबहादुर सिंहले ‘बेष्ट रिसर्च अवार्ड’ प्राप्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सो अवसरमा उक्त कोर्ष सफलतापूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरूलाई बधाई दिँदै सांगठानिक जिम्मेवारी निर्वाहको क्रममा पूर्ण व्यवसायिक भई कुशलतापूर्वक क्षमता र दक्षता प्रदर्शन गर्न निर्देशन दिए ।

उनले दीक्षित अधिकृतहरूले यस कोर्षबाट प्राप्त गरेका ज्ञान, सीप, कला र कौशललाई सदुयोग गर्दै सांगठानिक विकासमा इमानदार र कर्तव्यनिष्ठ भई सकारात्मक सोचका साथ उत्कृष्ट कार्यसम्पादन गर्नेतर्फ क्रियाशील रहनुपर्ने बताए ।

उनले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलतापूर्वक सञ्चालन गर्न नेपाल सरकार गृह मन्त्रालय, त्रिभुवन विश्वविद्यालयलगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरूबाट प्राप्त सहयोगप्रति आभार प्रकट गरे ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले संगठन र राष्ट्रका लागि दक्ष अधिकृत उत्पादनमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

उनले दीक्षित अधिकृतहरूलाई कार्यक्षेत्रमा सफलताको कामना गर्दै भोलिका दिनमा आउनसक्ने सुरक्षा चुनौतीहरू परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन तथा कुशल नेतृत्व प्रर्दशन गरी व्यावसायिक जिम्मेवारी निर्वाहमा यस्ता कोर्षबाट प्राप्त ज्ञान उपयोगी रहने बताए ।

उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।

२०७८ जेठ १६ गतेबाट सञ्चालन भएको सो कोर्षमा २ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ५ जना सशस्त्र प्रहरी नायब उपरीक्षकसहित कुल १० जना अधिकृतहरूको सहभागिता रहेको थियो ।

सो कोर्षमा सहभागी अधिृकतहरूलाई स्टाफ ड्युटिज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व तथा व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना, स्वदेश तथा विदेश शैक्षिक भ्रमणलगायतका विविध विषयहरूमा सम्बन्धित विषयका विज्ञहरूद्वारा अध्यापन गराइएको कुरा त्यस अवसरमा जानकारी गराइएको थियो ।

उक्त विशेष समारोहमा अवकाशप्राप्त सशस्त्र प्रहरी महानिरीक्षक तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर