बझाङमा मेला भरेर फर्किँदै गरेका यात्रु सवार जीप दुर्घटना, ६ जनाको मृत्यु

बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो ।

जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । उनका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाइते भएका छन् भन्ने यकिन नभएको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् ।

सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर