नारायणकाजी भन्छन्, ‘कांग्रेसभित्रको गुट-उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको छ’

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताएका छन् ।

बुधबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गोरखा २ मा अध्यक्ष दाहालको जित सुनिश्चित भएको बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्ड एउटै निर्वाचन क्षेत्र बनाउने र त्यसमा डुबिरहने संसद्वादको मान्यतालाई लागू नगर्नका लागि हरेक निर्वाचनमा फरकफरक क्षेत्रबाट उठेको बताए । अध्यक्ष दाहाल युवा अवस्थामा गोरखामा शिक्षण पेशामा आबद्ध भएको, जनयुद्ध शुरु गर्ने पहल गोरखाबाटै भएको, नेपालको एकिीकरण गर्ने थलो गोरखा भएको लगायतका विभिन्न भावनात्मक कारणले गर्दा गोरखाबाट उम्मेदवार बनेको बताए ।

त्यस्तै समृद्धि र समाजवादको मोडेल तयार गर्ने उपयुक्त थलो गोरखा भएकाले अध्यक्ष दाहालले गोरखा रोजेको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीमा धेरै गुट तथा उपगुट भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पार्टीभित्र आफू र अध्यक्ष दाहालबीचमा विभाजित गराउन खोजिएको भन्दै आफूहरू असाधारण एकतमा रहेको स्पष्ट पारे । एक अर्काको पक्ष लिएर गाली गर्ने काम नगर्न उनले आग्रह गरे ।

श्रेष्ठले विगतमा एमसीसी पारित नगर्न सघाउने शर्तमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीले प्रधानमन्त्री बनाउन तयार भएको दाबी गरे । उनले ओलीलाई प्रधानमन्त्री र चुनावी तालमेलको अफरसहित एमसीसी पारित नगर्न प्रस्ताव गरेको भए पनि ओलीले सो प्रस्ताव अस्वीकार गरेको उनले बताए ।

उनले चार पार्टीको गठबन्धन भए पनि नेपाली कांग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गरे । कांग्रेसभित्र शेरबहादुर देउवाको अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

गठबन्धनको सीमा र जटिलता रहेको भन्दै उनले गठबन्धनभित्र विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नमिलेको स्पष्ट पारे । यद्यपि सिट बाँडफाँटमा सहमति जुटेर चुनावी मोर्चामा जानु सुखद् भएको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति र गठबन्धन एकतावद्ध भएर जानुपर्ने बताए । गठबन्धनलाई जिताउन सक्रियतापूर्वक लाग्न उनले नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर