माओवादी नेताहरू भन्छन्, ‘गठबन्धन दलहरूबीच एकअर्कालाई मतदान गर्न समस्या छैन’

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव डिलाराम आचार्यले गठबन्धनमा आबद्ध दलहरूका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताएका छन् ।

सचिव आचार्यले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरूका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताएका हुन् । उनले गठबन्धन गर्नु र एक दलका मतदाताले अर्को दलको चिह्नमा मतदान गर्नु राजनीतिक मामिला भएको टिप्पणी गरे । उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिरू गुम्ने अवस्थामा पुगेपछि गठबन्धन गरिएको भन्दै गठबन्धनका दलहरूको चुनाव चिह्नमा भोट हाल्नका लागि आफूहरूले आह्वान गर्ने बताए ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले अर्को पार्टीको उम्मेदवारलाई किन भोट हाल्ने र यसको राजनीतिक उद्देश्य के हो भन्ने सम्बन्धमा जनतालाई प्रष्ट पार्ने उल्लेख गरे । उनले नेता कार्यकर्ताहरूले हँसिया हतौडाबाहेक अन्य चुनाव चिह्नमा भोट हाल्दिन भनेर हालसम्म नभनेको जिकिर गरे ।

उनले आफ्नै पार्टीका उम्मेदवार खोज्ने कार्यकर्ता र मतदाताहरूलाई गठबन्धनको उम्मेदवार नै आफूहरूको उम्मेदवार हो भनेर बुझाउने बताए । उनले गठबन्धन गरेको ठाउँमा रुख, कलम वा अन्य चिह्न लिए पनि आफ्नै पार्टीको उम्मेदवार सरह मानेर भोट हालिने बताए । त्यस्तै हँसिया हतौडा चिह्न लिएकाहरूलाई पनि अन्य दलहरूले आफ्नै उम्मेदवार मानेर भोट हाल्ने स्पष्ट पारे ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतिगमनका विरुद्ध अग्रगामीहरूको विचार, उद्देश्य र नीतिसहितको गठबन्धन भएकाले एकअर्कालाई भोट हाल्ने बताए । जहाँ जुन पार्टीको उम्मेदवार भए पनि निर्धक्कसँग भोट हाल्न पार्टीले आह्वान गर्ने उनको भनाइ छ ।

उनले जुन पार्टीको भए पनि गठबन्धनको उम्मेदवार आफूहरूको उम्मेदवार हुने स्पष्ट पारे । समानुपातिकमा भने आ–आफ्नो पार्टीलाई मत मागिने उनले बताए ।

माओवादी केन्द्र सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य रामप्रसाद न्यौपाने अर्को दलको चुनाव चिह्नमा मतदान गर्नु बाध्यता भएको बताउँछन् । उनले गठबन्धका उम्मेदवारहरू देशको आवश्यकताले उठाइएको भन्दै एकअर्कालाई मतदान गर्नुपर्ने बताए । चाहना नभए पनि गठबन्धनको उम्मेदवारलाई मतदान गर्नु आवश्यकता र बाध्यता भएको उनको भनाइ छ ।

उनले इमानदार कार्यकर्ताहरूले गठबन्धनको जुन उम्मेदवार छ उसैलाई भोट हाल्ने उल्लेख गरे । उनले व्यक्तिगत स्वार्थका लागि लाग्ने असन्तुष्ट मानिसहरूको भोट भने तलमाथि हुनसक्ने आशंका व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर