पूर्व निर्वाचन आयुक्तहरू भन्छन्, ‘उम्मेदवारी दिँदा पार्टीले न्याय गरेनन्’

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरूले गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।

बुधबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘संसदीय प्रणालीमा निष्पक्ष निर्वाचन’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिमा गठबन्धन स्वाभाविक भए पनि मतदानअघिको गठबन्धनले भने मतदातलाई अफ्ठ्याराे पार्ने बताए । उनले दलहरूले उम्मेदवारीमा महिला, दलित, जनजाति, अल्पसंख्यकलगायतको सहभागीलाई कम गराएर सो समुदायप्रति अन्याय गरेको पनि बताए ।

उनले संसदीय विकासको प्रणालीलाई कसैले पनि खल्बल्याउन नहुने भन्दै निर्वाचन प्रणालीभित्र पसेर अहिले संसदीय विकासको प्रणाली खल्बल्याउने काम भइरहेको बताए । उनले मतदाताहरूलाई पनि स्वतन्त्र विवेक प्रयोग गर्न पाउने अधिकारमा अंकुश लगाइएको बताए । उनले संविधानले ३३ प्रतिशत दिएको महिला अधिकारलाई पार्टीले निर्वाचनमा ९ प्रतिशतमा झारेर अन्याय गरेको बताए ।

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले निर्वाचनको विधि र प्रविधिमा पनि सुधार गर्नुपर्ने बताए ।

उनले राजनीतिक दलहरूले गठबन्धन गर्नाले मतदाताको विवेकमा समेत प्रभाव पारेको बताए । उनले मतदातालाई बाध्यात्मक स्थिति सिर्जना गरेर मतदान गराउनाले बहुदलीय व्यवस्था बलियो हुन नसक्ने बताए ।

उप्रेतीले निर्वाचनमा सुरक्षा व्यवस्था दिनानुदिन कडा गर्दै लानुपर्ने स्थिति आएको बताए । उनले मतदाताबाट नै निर्वाचन अधिकृत र कर्मचारीहरू छनोट गरी मतदाताहरूले नै निर्वाचन गराउनुपर्ने अवधारणाको उल्लेख गरे । त्यस्तै निर्वाचन आचारसंहिता निर्वाचन आयोगले नबनाई राजनीतिक दलहरूले नै बनाउनुपर्ने उनको भनाइ छ ।

उनले निर्वाचन सम्बन्ध गराउन निर्वाचन आयोग र कर्मचारीहरू सक्षम रहेको बताए । आयोगले जारी गरेको आचारसंहिता उपयुक्त भए पनि कार्यान्वयनको पक्ष भने कमजोर रहेको बताए ।

पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन खर्च घटाउने तथा निर्वाचनको कामलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर