राजदूत अधिकारी र पाकिस्तानका उद्योग वाणिज्य संघ अध्यक्षबीच भेटवार्ता

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका उद्योग वाणिज्य संघ अध्यक्ष इरफान इकबाल शेखबीच भेटवार्ता भएको छ ।

राजदूत अधिकारीले बिहीबार इस्लामावादमा संघका अध्यक्ष शेख र पदाधिकारीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा राजदूत अधिकारीले दुई देशको सद्भावनालाई आर्थिक सहयोग र अन्तरक्रियामा परिणत गर्ने बेला भएको बताए ।

उनले व्यापार र लगानी प्रवर्द्धन गर्नका लागि उपयोगी हुनसक्ने विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्न नेपाल सरकारको आर्थिक नीतिहरूबारे जानकारी गराएका थिए ।

उद्यमी र व्यवसायीलाई परिचालन गर्न संघको ठूलो भूमिका हुने भएकाले व्यवसायको अवसर खोज्न नेपाल भ्रमणका लागि राजदूत अधिकारीले सुझाव दिए ।

नेपाल साहसिक पर्यटनको हब भएको र दक्षिण एशियामा उत्कृष्ट आतिथ्य उद्योग रहेको बताउँदै अधिकारीले नेपाली आतिथ्य, खाना, संस्कृति र अन्य पर्यटन गतिविधिको आनन्द लिन आफ्नो आधिकारिक वा व्यक्तिगत व्यवसायका लागि साथीभाइ र परिवारसँग नेपाल भ्रमण गर्न सुझाव दिए ।

चेम्बरका अध्यक्ष र सदस्यहरूले नेपाल–पाकिस्तान सम्बन्धलाई आर्थिक क्षेत्रमा रूपान्तरण गर्न इच्छुक रहेको बताए । उनीहरूले व्यापारका अवसर खोज्न र नेपाली व्यवसायीसँग अन्तरक्रिया गर्न नेपाल भ्रमणको कार्यक्रम बनाउने र नेपाल–पाकिस्तान आर्थिक सम्बन्धलाई प्रवर्द्धन गर्न नेपाली दूतावासलाई पूर्ण सहयोग गर्ने आश्वासन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर