प्रचण्ड र बाबुरामले बनाएकाे धार नै नेपालका लागि सबैभन्दा उपयुक्त : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताएका हुन् ।

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरूलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए ।

उनले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरूमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताए । अध्यक्ष भट्टराईले आगामी ५ वर्ष स्थिरता कायम गरी देश विकासका लागि खर्च गर्ने समय रहेको बताए ।

उनले प्रतिगमनलाई रोक्नका लागि पनि आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताए । उनले तत्काल गठबन्धनका कुनै विकल्प नरहेको बताए ।

अध्यक्ष भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनै पनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताए । उनले विगतका कमजोरीलाई आत्मसात गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझी धार बोकेका शक्तिहरूले पुराना सामन्तवादी शक्तिहरूसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानाबाना बुनिरहेको बताए । उनले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गरे ।

अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा गठबन्धनले राम्रो प्रदर्शन गर्न नसके विगतको अवस्था दोहोरिन सक्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर