मनाइयो महाकवि देवकोटाको ११४औं जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्ती मनाइएको छ । शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो ।

जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उनको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमसमेत गरेको छ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते भएको थियो ।

कार्यक्रममा कवयित्री देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरू विभिन्न भए पनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताइन् । महाकवि देवकोटाले नेपाली भाषा प्रकाशिनी समिति, युगवाणी र इन्द्रेणी पत्रिकाको सम्पादक, नेपाली साहित्य परिषद्को सभापति, काव्य प्रतिष्ठानको अध्यक्षलगायतको जिम्मेवारीमा रहेर उल्लेखनीय काम गरेको बताइन् ।

त्यस्तै त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस र कमर्स क्याम्पसमा प्राध्यापन गराएको पनि उल्लेख गरिन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकल्पनाकार नै महाकवि देवकोटा भएको उनको भनाइ छ ।

कवयित्री नेपालले महाकवि देवकोटा वि.सं. १९९१ साल मंसिर १५ गतेको गोरखापत्रमा कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेको भन्दै उनले २४ वर्ष ९ महिना १४ दिनसम्म औपचारिक रूपमा कविता लेखनको कर्म गरेको बताइन् । नेपालले देवकोटाको सम्झनामा कविता वाचन पनि गरिन् ।

त्यसैगरी कार्यक्रममा कवि मञ्जिला अनिलले पनि महाकवि देवकोटाले आफ्नो जीवनकालमा लेखेको अन्तिम कविता वाचन गरेर सुनाए । उनले देवकोटाले मानवतावादी धारमा कविता लेख्ने गरेको उल्लेख गरे ।

महाकवि देवकोटाले लेखेको कविता वाचन गरेर कवि रेजिना आपगार्इंले पनि उनीप्रति सम्मान व्यक्त गरिन् ।

महाकवि देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटाको जन्म लक्ष्मीपूजाको दिन भएपनि प्रज्ञा–प्रतिष्ठानले महाकविको जन्म दविसको पूर्वसन्ध्यामा कार्यक्रम गरी महाकविको योगदानको स्मरण गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर