यूएन डे मनाउँदै सेना, के धेरै शान्ति सेना पठाउने मुलुक बन्न सक्छ नेपाल ?

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

सेनाले त्यसक्रममा सैनिक मुख्यालय जंगी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजको समेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन प्रस्तुत गरेको छ । त्यस अवसरमा काठमाडौं उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय/विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो ।

प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा पाँच किमी वाकाथन र तीन हजार दुई सय मिटर साइकल दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।

 

 

कार्यक्रमा पूर्वप्रधानसेनापति, रक्षा सचिव नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य प्रमुख, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

‘युएन डे’ का अवसरमा सेनाले आइतबार सैनिक मुख्यालयमा ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा भावी सवल जिम्मेवारी’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गर्दैछ । उक्त कार्यक्रमले विश्वशान्ति स्थापना कार्यमा सेनाको कटिबद्धता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा उजागर हुने सेनाले विश्वास लिएको छ । राष्ट्र सङ्घको स्थापना सन् १९४५ अक्टोबरमा भएको हो ।

दोश्रो दिनको कार्यक्रम अन्तर्गत आइतबार जङ्गी अड्डामा परराष्ट्रमन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यमा ‘संयुक्त राष्ट्र शान्ति सञ्चालन र बाटो अगाडि बढ्दै जाने क्षमता आवश्यकताहरू’ विषयक एक दिने अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

 

 

संयुक्त राष्ट्रसंघको आफ्नै सेना नभएकाले उसले अन्य देशबाट सेना लिने गरेको छ । नेपालले सन् १९५८ मा पाँच जना सैन्य पर्यवेक्षक लेबनानमा पठाएर राष्ट्रसङ्घको शान्ति मिशनमा सहभागिता जनाएको थियो । त्यसयता एक लाख ४० हजारभन्दा बढी फौज राष्ट्रसंघलाई उपलब्ध गराइसकेको छ ।

गएको अप्रिलसम्मको आँकडाअनुसार अहिले राष्ट्रसङ्घका विभिन्न नौ मिशनमा ५,७८२ नेपाली शान्ति सैनिक खटिएका छन् । बंगलादेशपछि सबैभन्दा बढी फौज उपलब्ध गराउने देशमा नेपाल पर्छ । शान्ति सैनिक उपलब्ध गराउने देशमध्ये नेपालको दक्षिणी छिमेकी भारत तेस्रोमा र उत्तरी छिमेकी चीन दशौँ स्थानमा छन् ।

नेपाली सेनाले राष्ट्रसंघबाट माग भएको अवस्थामा १०,००० फौज पठाउने प्रतिबद्धता नेपालले जनाएको र मिशनमा सहभागिता विस्तारका लागि पहल गरिरहेको जनाएको छ । सेनाको अनुसार हालसम्म ७२ जनाले शान्ति मिशनमा खटिँदा ज्यान गुमाएका छन् भने ६६ जनाको अङ्गभङ्ग भएको छ ।

यस्तै, हाल इथिओपिया, घाना र रुवान्डा राष्ट्रसङ्घलाई सबैभन्दा बढी महिना शान्ति सैनिक दिने देशमा पर्छन् । नेपाल २३४ जना महिला सैनिक शान्ति मिसनमा पठाएर चौंथो स्थानमा छ । राष्ट्रसंघमा खटिने प्रहरीतर्फ पनि हाल नेपाल चौथो स्थानमा छ । रुवान्डा, सेनेगल र बंगलादेश माथिल्लो तीन स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर