अमेरिकी राजदूत थम्प्सन उच्चस्तरीय भेटघाटमा व्यस्त

नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सन उच्चस्तरीय भेटघाटमा व्यस्त बनेका छन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूत थम्प्सनले निरन्तर उच्चस्तरीय भेटघाट गरिरहेका छन्।

राजदूत थम्प्सनले आइतबार गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेट गरेका छन्। गृह मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा थप सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाउँदै अमेरिकी राजदूत डिन थम्प्सन।

नेपालमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै गृहमन्त्री खाणले सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको बताए।

राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सबल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। नेपालको विकासमा अमेरिकाले गर्दै आएको सहयोग निरन्तर जारी रहने अमेरिकी राजदूत थम्प्सनले बताए।

यसअघि राजदूत थम्सनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका थिए। ओहादाको प्रमाणपत्र बुझाएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु गौरवको कुरा भएको उल्लेख गरेका थिए। उनले अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्लो समयलाई उछिनेको सुनिश्चित गर्न नेपालका नेता र जनतासँग काम गर्न आफू तत्पर रहेको बताएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी राजदूत डिन थम्प्सन।

सोही दिन राजदूत थम्प्सनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए। भेटमा नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्ध र संयुक्त राज्य अमेरिका, नेपाल र विश्व समुदायका लागि महत्त्वपूर्ण मुद्दाहरूमा थप सहकार्य गर्ने उपायबारे राजदूत थम्प्सनले छलफल गरेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले नियुक्त गरेका राजदूत थम्प्सन जिम्मेवारी सम्हाल्न गत असोज २६ गते नेपाल आएका थिए। अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी थम्प्सनले १५ असोजमा राजदूत पदको सपथ लिएका थिए। उनी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीको स्थानमा आएका हुन्।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग अमेरिकी राजदूत डिन थम्प्सन।

उनी नेपालको राजदूत नियुक्त हुनुअघिसम्म विदेश मन्त्रालयको दक्षिण र मध्य एशिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका थिए। उनी सन् २०२० देखि सन् २०२१ सम्म कार्यवाहक सहायक सचिव थिए।

थम्प्सनले भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतको रूपमा पनि काम गरिसकेका छन्। अंग्रेजीबाहेक उनी रोमानियाली र बंगाली भाषामा पनि दख्खल राख्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर