म्याग्दीमा सत्ता गठबन्धनका कारण कांग्रेसका खम्बिर गर्बुजालाई सहज

म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ ।

प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेश सभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । विसं २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो ।

विसं २०७४ मा एकवटा प्रदेश सभा माओवादी र एकवटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । एमाले विरासत जोगाउने र अन्य दल गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन् ।

गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छवटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।

प्रतिनिधि सभामा कांग्रेस–एमालेको प्रतिस्पर्धा

प्रतिनिधि सभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) उम्मेदवार छन् । कांग्रेसका जिल्ला सभापति गर्बुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपालि सत्तारूढ दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ ।

गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधि सभा सदस्यका लागि दुई कार्यकाल जिल्ला अध्यक्ष भएका प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठको नाम एकल सिफारिस गरेको थियो । “जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ”, श्रेष्ठ भन्छन्, “विसं २०७४ मा दुईवटा मात्र स्थानीय तह जितेका थियौँ । गत चुनावमा चारवटा पालिका जितेका छौँ । यो पनि हाम्रो जितको आधार हो ।”

जिल्ला सदरमुकाम बेनी बजारमा अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घसंस्थाको पनि नेतृत्व गरेका थिए । सदरमुकाम बेनीका बासिन्दा श्रेष्ठ र रघुगङ्गा गाउँपालिका–४ दग्नामका गर्बुजाको उमेर समान ५७–५७ वर्ष छ ।

कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि बाहलवाला सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय छन् । स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरूले बेनी नगरपालिकाको प्रमुख–उपप्रमुखसहित पाँच वडामा र धवलागिरि गाउँपालिकाको सबै पदमा तालमेल गरेका थिए ।

जिल्लाव्यापी तालमेल नहुँदा स्थानीय तह चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको ठहर गरेका नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा यसपालि नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् ।

“स्थानीय तहको चुनावमा गठबन्धनको मत एमालेको भन्दा धेरै छ । जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानमा छौँ”, गर्बुजाले भने, “२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीहरूबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा कांग्रेसले कडा प्रतिस्पर्धा गरेको हो । अहिले माओवादी, एकीकृत समाजवादी, जनमोर्चाको साथ छ । मतदाताको परिवर्तित मनोभावनाले पनि गठबन्धनलाई सहयोग पुग्छ ।”

एकै वडाका दुई उम्मेदवार

प्रदेश सभा क्षेत्र (क)मा एमालेका उम्मेदवार देवेन्द्रबहादुर केसी र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी रघुगङ्गा गाउँपालिका–२ भगवतीका बासिन्दा हुन् । नाताले केसी मामा र भण्डारी भान्जा पर्छन् । भगवती प्रदेश (ख)मा धेरै मतदाता हुने वडामध्येमा पर्दछ ।

एमालेका जिल्ला अध्यक्ष केसी यसअघि जिल्ला समन्वय समितिका प्रमुख र विसं २०५४ को चुनावबाट भगवती गाविसको अध्यक्ष बनेका थिए । केसीसँगको प्रतिस्पर्धामा गठबन्धनले ३९ वर्षीय युवा नेता भण्डारीलाई अगाडि सारेको छ ।

माओवादीको रघुगङ्गा गाउँपालिका अध्यक्ष रहेका भण्डारी विसं २०७४ को चुनावमा गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेका थिए । विदेशबाट फर्किएपछि बेनीमा व्यवसाय गर्दै आएका भण्डारी जेसिजलगायत सामाजिक सङ्घसंस्थामा आबद्ध छन् ।

प्रदेश (ख) मा एमाले–माओवादी
प्रदेश सभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा र गठबन्धनबाट माओवादीका रेशम जुग्जाली (सुविन) मुख्य प्रतिस्पर्धी हुन् । धवलागिरि गाउँपालिका–६ मराङमा जन्मिएका एमालेका प्रदेश कमिटी सदस्य गर्बुजाको बसोबास हाल काठमाडौँमा छ । उनले एमाले नेतृ थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका थिए ।

गठबन्धनबाट माओवादीका उम्मेदवार ३९ वर्षीय जुग्जाली सो पार्टीको म्याग्दी जिल्ला संयोजक छन् । द्वन्द्वकालमा भूमिगत भएका जुग्जालीका दाजु जितबहादुर ‘जनयुद्ध’का सहिद हुन् । विसं २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मालिका गाउँपालिका–७ को वडाध्यक्षमा निर्वाचित भएका जुग्जाली गत स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षको उम्मेदवार बनेका थिए ।

अहिलेको व्यवस्थाको सूत्रधार माओवादी भएको, गत चुनावमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्नसक्ने आधार खडा गरिएको जुग्जाली बताउँछन् । “गणतन्त्र, सङ्घीयता, समावेशतिा, संविधानलगायत माओवादी आन्दोलनबाट स्थापित मुद्दा तथा पार्टीले गरेका काम तथा भावी योजना लिएर जनतामाझ छौँ”, उनले भने, “म्याग्दीको राजनीतिमा माओवादीको मत निर्णायक हो । स्थिरता, संविधानको रक्षा र समृद्धिका लागि बनेको गठबन्धनलाई जिताउन म्याग्दीका लागि अहिले अवसर मिलेको छ ।”

गाउँ पसे उम्मेदवार

छवटा स्थानीय तह रहेको जिल्लामा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेश सभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।

राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका हुन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचारप्रसारमा कडाइ गरेपछि प्रचार शैली फेरिएको छ ।

सभाको विकल्पमा घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न थालेका हुन् । निर्वाचन आयोगले कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएको छ ।

पहिलो चरणमा मतदाता भेटघाटसँगै टोल–टोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिक रूपमा विकट क्षेत्रका बस्तीमा पहिलो चरणको घरदैलो गरेका हुन् । मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा केन्द्रित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *